सम्राट सिमेन्टको व्यापार घट्यो, एक वर्षमा ३ अर्ब ३७ करोडको कारोबार



काठमाडौं । सम्राट सिमेन्ट कम्पनी प्रालिको व्यापार घटेको छ । सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको सन् २०२३ मा भने ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२१ मा ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापारमा सन् २०२२ मा केही वृद्धि भए पनि सन् २०२३ मा पुनः कमी आएको देखिएको छ ।

सन् २०१३ मा स्थापना भएको सम्राट सिमेन्ट कम्पनी प्रालि सन् २०२२ बाट ३ हजार ६ सय मेट्रिक टनप्रति दिनको सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले सन् २०२२ अघि भने १८ सय मेट्रिक टन प्रतिदिनको क्षमतामा सिमेन्ट उत्पादन गरिरहेको थियो ।

त्यस्तै, यो कम्पनीले सन् २०२१ बाट दैनिक ४ हजार मेट्रिक टन क्षमताको क्लिकर उत्पादन गर्ने कारखाना पनि राखेको छ । कम्पनीको कारखाना दाङमा रहेको छ ।

कम्पनीले पीपीसी र ओपीसी दुवै किसिमका सिमेन्ट उत्पादन गर्ने गरेको छ भने गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट , सम्राट प्रिमियमलगायतका ब्राण्डमा सिमेन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीको निर्देशकमा भने सिजी ग्रुपका निर्वाण चौधरी र बरुण चौधरी रहेका छन् । त्यस्तै, अध्यक्ष पदमा अनिल कुमार रुंगटा रहेका छन् ।

नेपालको निर्माण क्षेत्रमा सुस्तता आएका कारण सम्राट सिमेन्ट कम्पनीको व्यापारमा पनि कमी आएको रेटिङ एजेन्सी केयर रेटिङले जनाएको छ । नेपालमा निर्माण क्षेत्र हाल सुस्त आर्थिक वृद्धि र अपेक्षाकृत न्यून गतिले प्रभावित रहेको र सरकारले पनि पूर्वाधार खर्चमा कमि गरेका कारण सिमेन्ट उद्योगको अवस्था चुनौतीपूर्ण रहेको एजेन्सीले जनाएको छ ।

हाल सम्राट सिमेन्ट कम्पनी प्रालिले १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये केयर रेटिङ नेपालले कम्पनीलाई १० अर्ब १४ करोड ४७ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माईनस र २ अर्ब ३५ करोड ९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु