आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न सक्दैनः शशांक कोइराला



काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघिबढ्ने दाबी गरे। उनले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको जिकिर गरे । काँग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताए ।

उनले भने ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमंग र उत्सहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ। हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’

नेता कोइरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौंमा आज चियापान समारोह राखेका थिए । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।


क्लिकमान्डु