खजुरीको नेपालको व्यापार बढ्यो, सन् २०२३ मा १ अर्ब ७३ करोडको कारोबार



काठमाडौं । खजुरीको नेपालको व्यापारमा बृद्धि भएको छ । विभिन्न किसिमका बिस्कुट, कुकिज र पफहरुको बिक्री गर्ने खजुरीको नेपालको सन् २०२३ को व्यापारमा अघिल्लो वर्षको तुलनामा ९२ करोडको बृद्धि भएको छ ।

सन् २०२३ मा कम्पनीले १ अर्ब ७३ करोड ४० लाखको कारोबार गरेको छ । कम्पनीले सन् २०१९ यता निरन्तर व्यापारमा बृद्धि गरिरहेको छ ।

पछिल्लो पाँच वर्षको कम्पनीको कारोबार हेर्दा सन् २०१९ मा ९९ करोड ८० लाख, २०२० मा १ अर्ब १५ करोड २० लाख, २०२१ मा १ अर्ब २८ करोड ६० लाख, १ अर्ब ६४ करोड २० लाख र सन् २०२३ मा कम्पनीको व्यापार १ अर्ब ७३ करोड ४० लाख रहेको छ ।

सन् १९९४ बाट सुरु भएर सन् २००४ मा स्थापनापश्चात सञ्चालनमा रहेको खजुरीको नेपाल प्रा.ली मुख्य गरि बिस्किट, कुकिज र पफजस्ता खाद्य उत्पादनको क्षेत्रमा काम गरिरहेको छ ।

ललितपुर, मकवानपुर र चितवनमा उत्पादन कारखाना रहेको यो कम्पनीमा एकै परिवारका ६ जनाको स्वामित्व रहेको छ, जसको नेतृत्व अध्यक्षका रुपमा रहेका ओमनाथ महर्जनले गरिरहेका छन् । कम्पनीले हाल १ अर्ब १० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिंग गराएको छ ।

रेटिंग एजेन्सीले ८७ करोड ४७ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि एल डबल बि माईनस र २२ करोड ५३ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु