७ महिनामा १२ हजार विद्युतीय सवारी भित्रिए, नेपालमा चिनीयाँ टेम्पोको दबदबा



काठमाडौं । पछिल्लो ७ महिनामा करिब १२ हजार विद्युतीय सवारी साधान नेपाल भित्रिएको छ । भन्सार विभागले सर्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनासम्मको तथ्यांकअनुसार ११ हजार ९५६ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । यी सवारी साधनबाट ६ अर्ब ८३ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

नेपाल भित्रिने विद्युतीय सवारीमा सबैभन्दा धेरै चिनीयाँ टेम्पो (तीन पाङ्ग्रे) सवारी साधन रहेको छ । चीनबाट तीनपाङ्ग्रे विद्युतीय सवारी साधन पछिल्लो सात महिनामा ४ हजार ७४९ वटा भित्रिएको छ । यी सवारी साधानबाट मात्रै भन्सार विभागले १६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भारतबाट पनि पछिल्लो ७ महिनामा १ हजार ४८ वटा तीनपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका छन् । नेपाल भित्रिएका यस्ता सवारी साधान अधिकांश तराई क्षेत्रमा सञ्चालन हुन्छन् ।

पछिल्लो ७ महिनामा आएका विद्युतीय सवारीमा ३ हजार ६१ वटा चीनबाट आएका १०० किलोवाटसम्मका कार, जीप र भ्यान छन् । यस्तै यस अवधिमा भारतबाट आएका २ हजार ४८ वटा ५० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यान छन् ।

नेपालमा भित्रिएका विद्युतीय सवारी साधानको संख्या करिब ६ हजारले बढेको छ । गत वर्ष २०७९/८० को पहिलो ७ महिनामा जम्मा ६ हजार ३१२ वटा यस्ता विद्युतीय सवारी भित्रिएका थिए ।

गत वर्ष यी सवारीसाधनबाट भन्सार विभागले १ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । पछिल्लो समय सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेसँगै नेपालमा विभिन्न प्रकार र क्षमतामा यस्ता सवारी साधन भित्रने क्रम बढीरहेको छ ।


क्लिकमान्डु