विपक्षी नेताको मृत्युपछि रुसमाथि आर्थिक कडाइको तयारी, विश्व अर्थतन्त्रमा थप असर पर्नसक्ने



एजेन्सी । रुसका प्रमुख प्रतिपक्षी नेता एलेक्सीई नभाल्नीको मृत्युले रुस र युक्रेनको युद्धसँगै रुसमाथि आर्थिक प्रतिबन्धहरुमा पनि प्रभाव पार्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार युक्रेनसँगै अन्य देशहरुले पनि रुसमाथि आर्थिक रुपमा थप कडाइहरु गर्नका लागि माग तथा तयारी गरेका छन् । अमेरिकाले पनि रुसमाथि नयाँ प्रतिबन्धहरु लगाउने तयारी गरेको छ।

नभाल्नी चार दिनअघि फेब्रुअरी १४ मा मृत भएको खबर बाहिरिएको थियो ।

रुसको संघीय पेनिटेन्सरी सेवाले नभाल्नीको मृत्यु पश्चिमी साईबेरियामा रहेको यामालो नेनेट्स जेलमा भएको घोषणा गरेको थियो।

नभाल्नी पछिल्लो समय विश्वभरमा नै समर्थन पाएका नेताका रुपमा चिनिन्थे । मुख्य गरि पुटिन र उनको सरकारका काम कारबाहीविरुद्धको आवाज उठाएका कारण नभाल्नी धेरैका लागि रसियाको वैकल्पिक नेता बनेका थिए । तर, पुटिनका लागि भने उनी आँखाको कसिंगर थिए, जसलाई तत्कालै निकालेर फ्याक्न चाहन्थे उनी ।

यसकै फलस्वरुप विगतमा पनि उनीमाथि ज्यान मार्ने प्रयासहरु भएका थिए ।

नेतासँगै अभिवक्ता, भ्रष्टाचारविरोधी अभियन्तालगायतको परिचय बनाएका नभाल्नीले पुटिन र उनको वरिपरिसम्बन्धित रहेका विषयहरुमा निरन्तर आवाज उठाएका थिए ।

सन् २०२१ मा नभाल्नी र भ्रष्टाचारबिरोधी फाउन्डेसन (एफबीके)ले पुटिन्स प्यालेसः विश्वकै ठूलो घुसको इतिहास (पुटिन्स प्यालेसः हिस्ट्री अफ वर्ल्ड्स लारजेस्ट ब्राइब) नामक डकुमेन्ट्री प्रसारण गरेका थिए ।

नभाल्नीकै निर्देशन र लेखनमा बनेको यसले पुटिनले आफ्ना मान्छेहरु प्रयोग गरेर गरिरहेको भ्रष्टाचारलाई खुलाएको थियो । यो खोज रुसको कारस्नोदार क्राइमा रहेको गेलेड्जिक शहर नजिकैको एक दरबारको बारेमा थियो, जसको निर्माणका लागि १.३५ बिलियन अमेरिकी डलर (१ अर्ब ३५ करोड अमेरिकी डलर) वा एक खर्ब ७९ अर्ब ५३ करोड २३ लाख भ्रष्टाचार भएको दाबी गरिएको थियो ।

नभाल्नीले पुटिनमाथि निरन्तर आवाज उठाइरहे । रुसमा तानाशाही रुपमा शासन गरिरहेका पुटिनमाथिको आवाज उठाउनु उनका लागि महँगो भएको थियो । नभाल्नीमाथि पटक पटक हत्याको प्रयास भएको थियो । यसअघि सन् २०२० मा उनलाई मन्द विषको प्रयोग गरेर मार्ने प्रयास गरिएको थियो । साइबेरियातर्फ जहाजमार्फत यात्रा गरिरहँदा उनी विमानभित्र नै बेहोस भएका थिए र उनको उपचार भएको थियो ।

सन् २०२१ जनवरी १७ मा जर्मनीबाट रुस फर्किएका नभाल्नी उडेको विमानलाई सेरेमेट्यभभो अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिनु पर्नेमा उनी चढेको जहाज भ्नुकोभो एयरपोर्टतर्फ डाइभर्ट गरिएको थियो । जहाँ उनको पासपोर्टलाई कब्जामा लिएर उनलाई पक्राउ गरिएको थियो । पछि उनलाई जेल सजाय भयो ।

जेलमै रहेको बेला दुई साताअघि नभाल्नीको निधन भएको खबर बाहिरियो । साइबेरियन पेनल कोलनीका अधिकारीहरुले नभाल्नी बिहान हिँडिरहेको बेला अचानक बहोस भएको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् ।

नभाल्नीको मृत्युले रुसमाथि पश्चिमा देशहरुले अहिले दबाब बढाइरहेका छन् । र यसको असर आर्थिक रुपमा पनि पर्ने देखिएको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धमा यसले प्रत्यक्ष असर गर्ने देखिएको छ ।

रुसी विपक्षी नेता नभाल्नीको मृत्युको विषयलाई लिएर फ्रान्स, पोल्याण्डलगायतका देशहरुले आफ्ना देशमा रहेका रुसी राजदूतलाई सोधपुछ गरेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरु लगाउने तयारी गरेको छ ।

सीएनएनकाअनुसार अमेरिकी अधिकारीहरुले रुसमाथि थप र महत्वपूर्ण आर्थिक विषयहरुमा प्रतिबन्ध लगाउने तयारी गरेका छन्।

त्यस्तै, युक्रेनका प्रधानमन्त्रीले मंगलबार युरोपेली युनियन र जापानसँग रुसमाथि थप आर्थिक प्रतिबन्धहरु लगाउनका लागि माग गरेका छन् । युरोपेली संघका जर्मनी, लुथियाना, स्वडेनजस्ता देशहरुले नभाल्नीको मृत्युपछि नयाँ प्रतिबन्धहरु लगाउने भनेसँगै युक्रेनका प्रधानमन्त्रीले पनि युरोपेली संघ र जापानसँग रुसमाथि थप आर्थिक प्रतिबन्धहरु लगाउन माग गरेका हुन् ।

युक्रेनका प्रधानमन्त्री डेन्यस् सम्यहालले टोकियोमा जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई भेटेसँगै आफूहरुले जापानसँग रुसमाथि थप आर्थिक प्रतिबन्धका लागि माग गरेको बताएका छन् । उनले आफूहरु लोकतन्त्रका मूल्य र मान्यताका लागि लडिरहेको बेला रुसको युद्ध र रुसले गरेको व्यवहार तानाशाही भएको पनि दाबी गरेका छन् ।

द न्युयोर्क टाइम्सकाअनुसार आगामी शुक्रबार अमेरिकाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्धहरु लगाउने छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन एफ कर्विले राष्ट्रपति जे वाइडेनले कुनै पनि रुपमा नभाल्नीको मृत्युपछाडि पुटिन सरकारको हात रहेको र त्यसको जिम्मेवारी उनीहरुले भोग्नु पर्ने बताएको जानकारी दिएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा रुस र युक्रेन युद्ध सुरु भएयता विश्वभरको आर्थिक अवस्थामा कैयौं प्रभावहरु परेका छन् । पश्चिमा देशहरुले लगाएको रुसमाथिको प्रतिबन्धका कारण विश्वकै आर्थिक स्थितिमा प्रभाव परेको छ भने रुसले पनि आफ्नो वितरण प्रणालीमा गरेका कडाइहरुका कारण यसले विश्वभरमा नै प्रभाव पारेको छ ।

नभाल्नीको मृत्युपछि थप प्रतिबन्धहरु लाग्ने, त्यसमा पनि आर्थिक प्रतिबन्धहरुमा कडाइ हुँदा, रुसले पनि त्यसको जवाफमा यस्तै आर्थिक विषयहरुमा आफ्नो ध्यान केन्द्रित गर्ने विश्लेषकहरुको दाबी छ । जसले गर्दा पहिल्यै नै मन्दीउन्मुख भएको विश्वको आर्थिक अवस्थामा थप असर गर्ने देखिएको छ ।


क्लिकमान्डु