कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, विभागसँग व्यवस्थापन समितिले माग्यो विवरण



काठमाडौं । सरकारले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

फागुन ४ गतेको मन्त्री स्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । सहकारी विभागले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माघ २९ गते सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सिफारिस हो ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाइएको छ,’ पत्रमा उल्लेख छ ।

मन्त्रालयबाट उक्त पत्र प्राप्त भए लगत्तै सहकारी व्यवस्थापन समितिको कार्यालयले आज मंगलबार सहकारी विभागलाई पत्र लेख्दै कान्तिपुर सहकारीसँग सम्बन्धित सबै कागजात माग गरेको समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेले बताए । सहकारीले बचतकर्ताको बचत समयमा नै फिर्ता नगरेको भन्दै विभागमा उजुरी परिरहेको छ । सहकारीले साढे ३ सय भन्दा बढी बचतकर्ताको ६ अर्ब भन्दा बढी ठगेको उजुरी परेको छ ।

यता प्रहरीले सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ल ठकुरीलाई सोमबार नै पक्राउ गरेको छ । सहकारी ठगीको उजुरी परेपछि उनलाई १ गते नै प्रहरीले पक्राउ गरेको छ ।


क्लिकमान्डु