अब नेपालीले नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रका आधारमा भारतीय सिम पाउने



काठमाडौं । नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्।

‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइँदैन थियो,’ उनले भनेका छन्, ‘राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो !’

यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरूलाई सिम कार्ड दिन रोक लगाएको थियो । लामो समयदेखि काम गरिरहेका र आधार कार्ड भएका नेपालीलाई भने सिम उपलब्ध गराइने गरेको थियो ।

घुम्न वा काम विशेषले जानेहरूले भने सिमकार्ड पाउँदैन थिए ।

भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सिम कार्ड उपलब्ध गराइन्थ्यो ।

अब भने नेपाल र भुटानका नागरिकले नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सिम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म्याद सकेपछि नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा भने नेपाली नागरिकले भने पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनु पर्नेछ ।


क्लिकमान्डु