महिनामा ४५ हजार दक्ष श्रमशक्ति बाहिरिए, ७ महिनामा विदेशिनेको संख्या ४ लाख बढी



काठमाडौं । नेपालबाट सीपयुक्त दक्ष जनशक्ति मासिक ४५ हजारभन्दा बढी बाहिरिन थालेका छन् । वैदेशिक रोजगारी विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष माघ महिनाको तथ्यांकअनुसार सीपयुक्त अर्थात दक्ष जनशक्ति मात्रै ४५ हजार ६४८ जना बाहिरिएका हुन् ।

तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा मात्रै २ लाख ८७ हजार १९ जना दक्ष जनशक्ति कामको खोजीमा विदेश भौतारिएका हुन् । तथ्यांकअनुसार माघमा ४५ हजार ६४८, पुसमा ४८ हजार १६१, मंसिरमा ४९ हजार ०८५, कात्तिकमा ३० हजार ८३२ दक्ष जनशक्ति विदेशिएका हुन् । यस्तो जनशक्ति असोजमा ३८ हजार ७३८, भदौमा ३५ हजार ८१० र साउनमा ३८ हजार ७४५ रहेको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।

नेपालबाट बाहिर गएका ६२ हजार नेपालीमध्ये उच्च सीपयुक्त जनशक्ति ५१ जना छन् । पेशागत व्यक्ति १४० जना रहेको देखिएको छ । यो अवधिमा मध्यम सीपका व्यक्ति ४ हजार ३२७ जना छन् । गत महिना विदेशीका ती नेपालीमध्ये अदक्ष जनशक्ति भने ११ हजार ९७८ रहेको पनि विभागको तथ्यांकले देखाएको छ ।

नेपालबाट कामको खोजीमा चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना ४ लाख ५ हजार ५५२ जना विभिन्न देशमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो ७ महिनामा श्रमको लागि विदेशिएका नेपालीको संख्या गत वर्षको सोही अवधिको तुलनामा १५.३० प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा यो वर्षको साउनदेखि माघसम्ममा ७३ हजार कम विदेशिएका छन् । गत वर्षको पहिलो ७ महिनामा ४ लाख ७८ हजार ८३० नेपाली कामको खोजीमा विभिन्न मुलुक पुगेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार यो वर्ष सबैभन्दा बढी नेपाली मंसिर महिनामा विदेशिएका छन् । उक्त महिनामा ७१ हजार नेपाली बाहिरिएको तथ्यांकले देखाएको छ । पछिल्लो ७ महिनामा विदेशीका नेपालीमा सबैभन्दा कम कात्तिकमा ४३ हजार मात्रै छ । यस्तो संख्या गत वर्षको कात्तिकमा भने ७८ हजार थियो ।

तथ्यांकअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेमा पुरुष बढी छन् । गत महिना माघमा नेपालबाट वैदेशिक रोजगारीमा जानेमा पुरुष ५५ हजार ९७३ छन् भने महिला ६ हजार १७४ जना रहेका छन् ।


क्लिकमान्डु