विश्वका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् नेपाल आउँदै



काठमाडौं । भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्त्वावधान उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयमा हुने भएको छ ।

काठमाडौं विश्वविद्यालयमा फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् उक्त सम्मेलनमा सहभागि हुने छन् ।

काठमाडौं विश्वविद्यालयक प्रवक्ता एक्कुमाया पुनका अनुसार विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषयमा उक्त सम्मेलन हुनेछ ।

सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उनको भनाइ छ।

सम्मेलनमा लागी करिब २२७ सहभागीहरू सहभागिता रहने निश्चित भएको प्रवक्ता पुनले बताइन्। सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ भने भारतबाट विभिन्न १७ राज्यका विश्वविद्यालयबाट समेत सहभागिता हुनेछ।

सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुने उनले बताइन् ।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदान प्रदानलाई प्रोत्साहित गर्ने उनको भनाइ छ ।

सम्मेलनले विभिन्न क्षेत्रका शैक्षिक समुदाय, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरूबिच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढवा दिने उनको भनाइ छ।

सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्ने तथा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयमा सहकार्य हुने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्मेलनबाट नेपालको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए ।


क्लिकमान्डु