खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा तोकियो



काठमाडौं । सरकारले खाद्य पदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी यसको सीमा निर्धारण गरेको हो । सरकारले खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कूल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढि नहुने गरी सीमा निर्धारण गरेको छ ।

यसबाहेक सरकारले खाद्य पदार्थहरुको लेबलमा खाद्य नियमावली २०२७ अनुसार विवरणहरु उल्लेख गर्न राजपत्रमार्फत व्यवस्था गरेको छ । लेबलमा अनिवार्य रुपमा ट्रान्स फ्याटको मात्रासमेत उल्लेख गर्न व्यवस्था गरिएको छ ।

उत्पादनको लेबलमा ट्रान्स फ्याटरहित (ट्रान्स फ्याट फ्री) भनी दाबी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १ सय ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी नभएको हुनुपर्ने सरकारले व्यवस्था गरेको छ ।

यो सूचना राजपत्रमा प्रकाशित भएको १८१ औं दिनदेखि कार्यान्वनयमा आउने राजपत्रमा उल्लेख छ । यसको अर्थ अब बजारमा आउने नयाँ खाद्य पदार्थहरुको लेबलमा खाद्य नियमावली २०२७ अनुसार विवरणहरु उल्लेख गर्न समय दिइएको हो ।

वनस्पति तेलमा हाइड्रोजन प्रवेश गराएर ठोस वा अर्ध ठोस बनाउने प्रक्रियालाई हाइड्रोजिनेसन भनिन्छ । वनस्पति घीउ तथा आंशिक रुपमा हाईड्रोजिनेटेड गरिएको वनस्पति तेल तयार पार्दा उत्पन्न हुने असन्तुलित अन्य प्रकारका तेल ट्रान्स फ्याटलाई औद्योगिक ट्रान्स फ्याट भनिन्छ ।

यसैगरी सरकारले अबदेखि कुनै पनि खाद्य उत्पादक, व्यवसायी र बिक्रेताले मसीले लेखिएको, छापिएको र रङ्गाइएको कागजमा राखेर खाद्य पदार्थ बिक्री बितरण गर्न नपाइने व्यवस्था पनि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ ।


क्लिकमान्डु