क्यापिटल मर्चेन्टबाट ९ करोड रुपैयाँ ऋण लिएर फरार थापा पक्राउ



काठमाडौं । प्रहरीले एक दशक पछि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको घोटाला प्रकरणका एक फरार प्रतिवादी पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रेका ६७ वर्षिय रामभक्त थापालाई पक्राउ गरेको हो । थापाले काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर कम्पनीबाट ८ करोड ५० लाख रुपैयाँ ऋण झिकेका थिए । ऋण भुक्तान नगरी फरार रहेका थापालाई सनिबार सिआइबीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

थापलाई कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीलाई ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ चौहत्तर पैसा विगो बराबर हानी नोक्सानी पुर्याएको भन्दै साविकको पुनरावेदन अदालत पाटनले २०७१ सालमा तीन वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका थापालाई सिआइबीको टोलीले २६ गते कोटेश्वरबाट पक्राउ गरेको हो ।

२०६८ सालमा क्यापिटल मर्चेन्टबैंक तथा फाइनान्स घोटाला काण्ड बाहिर आएको थियो । राष्ट्र बैंक बादी रहेको उक्त मुद्धामा १ सय भन्दा बढिलाई प्रतिवादी बनाइएको थियो । ३ अर्ब माथिको कर्जा दुरुपयोग भएको भन्दै राष्ट्र बैंकले तत्कालिन सञ्चालक पवन कार्की सहित १ सय बढि बिरुद्ध मुद्धा दायर गरेकोमा काभ्रेका एकै गाउँका ४४ जना प्रतिवादी जेल गएका थिए ।

फरार रहेका थापालाई भने सिआइबीले एक दशक पछि पक्राउ गरेको हो । केहि दिन अघि मात्रै सोही घोटाला प्रकरणमा फरार रहेकी ४५ वर्षिय मन्दिरा कार्कीलाई पनि सिआइबीले पक्राउ गरेको थियो ।


क्लिकमान्डु