सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल गरिने



तनहुँ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ ।

गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो ।

त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रममार्फत यस ठाउँको विकास गर्न लागिएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको थापाले जानकारी दिए ।

स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गरेको हो । यो कार्यक्रम सञ्चालन हुने पालिकाहरुले वार्षिक २५ लाख्भन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र २५ लाखमाथि वार्षिक आम्दानी भएका पालिकाहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने प्रावधान रहेको छ ।

सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ । त्यसका लागि प्रदेश सरकारले ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले २८ लाख ९५ हजार तीन सय लागत साझेदार गर्नेछ ।

उक्त कार्यक्रममा स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यीकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम, कला, संस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन लगायतका कार्यक्रम गरिने थापाले जानकारी दिए । उनले भने, ‘सिद्धगुफालाई दक्षिण एसियाकै ठूलो गुफा दाबी गर्ने गरिएको छ, यस ठाउँमा पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न सकिन्छ भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीय स्थलमध्ये सिद्धगुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुन्द्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।

विसं २०४४ चैत १३ गते स्थानीय चन्द्रबहादुर साम्लीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक सो गुफा पत्ता लागेको थियो ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालिन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ ।

सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचिन वस्तु, अक्षर मेटिएका तामाका पैसा, माटोबाट बनेका टुक्की, पानीका घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरका दारा, टेराकोटाको शुल्पा र सानो थाल जस्ता सामग्री इसं १६ र १७औँ शताब्दी अघिका भएको अनुमान गरिएको छ ।

केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृति भेटिन्छन् ।

भ¥याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँमा पुगिन्छ । त्यहाँ सहासिक खेल ¥यापलिङ ९अँध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल० खेल्ने गरिने सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।


क्लिकमान्डु