पर्यटक बढेसँगै होटलको नाफा १० प्रतिशतले बढ्यो, हायात प्यालेस भने ११ करोड घाटामा



काठमाडौं । पर्यटक आगमनसँगै होटलको नाफा बढेको छ । सन् २०२३ मा पर्यटक आगमन १० लाख नाघेसँगै पर्यटन क्षेत्रले त्यसको लाभ पाउन थालेको छ । पर्यटक आगमन बढेकै कारण नेपालका सूचीकृत होटलको नाफा पनि बढ्न थालेको देखिएको छ ।

होटल खोल्न प्रतिस्पर्धा देखिएको भए पनि हाल सञ्चालनमा हरेका होटलले दिएको सेवा र सुविधा कारण सकारात्मक अपेक्षा देखिएको पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूमध्ये दुईवटा पाँचतारे होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यी दुई होटलको नाफा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० प्रतिशतले बढेको छ ।

यस्तो नाफा कमाउनेमा सबैभन्दा बढी सोल्टी होटल रहेको छ । सोल्टीको खुँद नाफा २६ करोड ३१ लाख रुपैयाँ रहेको छ । यो होटलले गत आथिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा २५ करोड १४ लाख रुपैयाँ खुँद नाफा कमाएको थियो । सोल्टीले भने यो अवधिमा कमाएको नाफा एक करोड रुपैयाँभन्दा बढी छ ।

चालु् आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ओरियन्टल होटल (र्‍याडिसन)को नाफा ५ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो होटलले गत आवको सोही अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । र्‍याडिसन होटलले पनि गत वर्षको तुलनामा यो वर्ष कमाएको नाफा एक करोड ६९ लाख रुपैयाँले बढेको देखिएको छ ।

सोल्टी होटल लिमिटेडको नाफा चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ९६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा होटलको खुद नाफा ४.६४ प्रतिशत बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ ।

यसको सञ्चालन आम्दानी ३.८२ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ । नाफा बढेपनि होटलको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ ।

यो होटलको यस्तो आम्दानी २ पैसा घटेर ५ रुपैयाँ ९५ पैसामा झरेको छ । सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ ।

८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

आइतबार सार्वजनिक तथ्यांक अनुसार र्‍याडिसनले यो वर्षको दोस्रो त्रैमाससम्ममा होटलले गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो ।

र्‍याडिसनको आम्दानी २७.५७ प्रतिशत बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ । यसको कुल नाफा २४.६१ प्रतिशत, कुल खर्च २२.६८ प्रतिशत बढेको छ र सञ्चालन मुनाफा ३५.२१ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै होटलको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ । सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

हायात प्यालेस घाटामा

सिटी होटलले सञ्चालन गरेको हायात प्यालेस भने चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँले घाटामा छ । यो होटलको घाटा अघिल्लो वर्षको सोही अवधिमा १३ करोड २४ लाख रुपैयाँ रहेको होटलले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिस्कृत विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार हायात प्यालेस भने घाटामा चलेको पाँचारे होटल हो । यो होटलले यो अवधिमा १३ करोड २४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । यस्को यस्तो नोक्सानी गत आवको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ थियो ।

यस अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १४.६१ प्रतिशत बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ । होटलको कुल आम्दानी समीक्षा अवधिमा २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलको प्रतिसेयर आमदानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ ।

हायात प्यालेसको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नेप्सेमा होटल समूहअन्तर्गत ६ वटा कम्पनी सूचीकृत भएपनि अरुको वित्तीय विवरण भने सार्वजनिक भइसकेको छैन् ।


क्लिकमान्डु