नेपालको व्यापारमा ११ लाख जनशक्ति प्रयोग, ८०.५८% जनशक्ति पारिश्रमिक वेगर काम गर्छन्
सबैभन्दा बढी मुनाफाको दर मोटर व्यापारमा
काठमाडौं । नेपालको आर्थिक क्रियाकलापमध्ये एक व्यापार क्षेत्रबाट ११ लाख ३० हजार सर्वसाधारणले रोजगारी प्राप्त गरेका छन् ।
तत्कालिन केन्द्रीय तथ्याँक विभागले २०७८ सालमा गरेको राष्ट्रिय जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्यामध्ये ११ लाख ३० हजार ६ सय ४५ जना सर्वसाधारणले विभिन्न क्षेत्रगत थोक तथा खुद्रा व्यापारबाट रोजगारी प्राप्त गरेका छन् ।
राष्ट्रिय तथ्याँक कार्यालयले पछिल्लो समयमा थोक तथा खुद्रा व्यापारको अवस्थाको बारेमा गरेको अध्ययनको क्रममा यो तथ्याँक बाहिरिएको हो । कार्यालयले अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
यो तथ्याँक अनुसार व्यापार क्षेत्रमा ६४ प्रतिशतका दरले ७ लाख २६ हजार ६ सय ८१ जना पुरुष र ३६ प्रतिशतका दरले ४ लाख ३ हजार ९ सय ६४ जना महिला व्यापार क्षेत्रमा संलग्न छन् ।
कार्यालयका अनुसार यो तथ्याँकलाई आधार मानेर हेर्दा औसत १ सय ४६ जना पुरुष र ८१ जना महिला व्यापार क्षेत्रबाट रोजगारी गरिरहेका छन् । एक प्रतिष्ठानमा औसत २ जना कामदारले रोजगारी पाएको यो तथ्याँकले देखाएको छ ।
तथ्याँकअनुसार सबैभन्दा बढी वागमती प्रदेशका सर्वसाधारण व्यापारिक प्रतिष्ठानमा संलग्न रहेका छन् । यो प्रदेशको ३२.९० सर्वसाधारण व्यापारिक प्रतिष्ठानमा सहभागी रहेको तथ्याँकले देखाएको छ ।
यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको सर्वसाधारण व्यापारिक प्रतिष्ठानमा संलग्न रहेको पाइएको छ । यो प्रदेशको ४.२१ प्रतिशत सर्वसाधारण व्यापारिक प्रतिष्ठानमा संलग्न रहेको पाइएको हो ।
वागमती प्रदेशपछि कोशी प्रदेशका सर्वसाधारण खुद्रा तथा थोक व्यापारमा संलग्न छन् । यो प्रदेशको १६.८४ प्रतिशत सर्वसाधारण व्यापारिक गतिविधीमा संलग्न रहेको पाइएको छ ।
ज्याला भने थोरैले पाउँछन्
कार्यालयले सार्वजनिक गरेको तथ्याँकले व्यापार क्षेत्रमा ११ लाख ३० हजार ६ सय ४५ जना कार्यरत रहेपनि उनीहरुले पाउने पारिश्रमिकको अवस्था भने निक्कै दयनिय भेटिएको छ ।
देशभरका विभिन्न प्रकारका क्षेत्रगत खुद्रा तथा थोक व्यापारबाट १९.४२ प्रतिशत कामदारले मात्रै काम गरेवापत पारिश्रमिक पाइरहेका छन् । बाँकी ८०.५८ प्रतिशत कामदार पारिश्रमिक वेगर काम गर्दैआएको यो सर्वेक्षणले डरलाग्दो तथ्याँक पनि सार्वजनिक गरेको छ ।
पारिश्रमिक वेगर काम गर्नेमा पुरुषको संख्या अत्यधिक रहेको पाइएको छ । ७९.५० प्रतिशत पुरुष पारिश्रमिक वेगर काम गरिरहेको पाइएको छ भने २०.५० प्रतिशत महिला पारिश्रमिक बिना नै काम गर्दै गरेको फेला परेको हो ।
यो संख्यामध्ये १९.४२ प्रतिशतका दरले २ लाख १९ हजार ५ सय ५१ जनाले मात्रै नियमित रुपमा पारिश्रमिक र अन्य सुविधा पाइरहेका छन् ।
यसमध्ये पनि ६०.६० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय ४२ जना पुरुषले नियमित रुपमा पारिश्रमिक र अन्य सुविधा पाएका छन भने ३९.४० प्रतिशतका दरले ४५ हजार ९ जना महिलाले मात्रै व्यापार क्षेत्रबाट नियमित रुपमा पारिश्रमिक र अन्य सुविधा प्राप्त गरेको तथ्याँकले देखाएको छ ।
‘यो क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिएर काम गर्नेभन्दा तलब ज्याला र अन्य सुविधा नलिएर पारिवारिक सदस्य संलग्न रहेको ठूलो संख्यामा पाइएको छ,’ सर्वेक्षणमा भनिएको छ,‘तलव र सुविधा लिने कामदारले पनि मासिक रुपमा १७ हजार ३ सय ३४ रुपैयाँ मात्रै पारिश्रमिक पाएको फेला परेको छ ।’
तलबी कामदार भएको व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधातर्फ प्रतिष्ठानको औसत वार्षिक ६ लाख ४ हजार ९ सय १२ रुपैंयाँ खर्च भएको भेटिएको छ । जसमध्ये एक जना कामदारमा वार्षिक रुपमा औसत २ लाख ८ हजार ४ सय ९४ रुपैंयाँ तलब सुविधामा खर्च भएको देखिन्छ ।
देशभर डेढ लाख व्यापारिक प्रतिष्ठान आफुखुशी सञ्चालनमा
कार्यालयले सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण २०२२ को तथ्याँकअनुसार सातवटै प्रदेशमा गरी ४ लाख ९८ हजार ५८ वटा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् ।
यसमध्ये ६६.९५ प्रतिशतको दरले ३ लाख ३३ हजार ४ सय ४९ वटा व्यापारिक प्रतिष्ठान मात्रै सरकारी निकायमा दर्ता भएर सञ्चालनमा छन् । बाँकी ३३.०५ प्रतिशतका दरले १ लाख ६४ हजार ६ सय ९ वटा व्यापारिक कुनै पनि सरकारी निकायमा दर्ता नभएर आफुखुशी सञ्चालनमा छन् ।
तथ्याँकअनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् । यो प्रदेशमा १ लाख ४४ हजार ४ सय ४० वटा छन् ।
प्रशासनिक निकायको उपस्थितिको हिसावले यही प्रदेशमा संघीय मन्त्रालय र तिनका विभिन्न नियमन गर्ने विभाग तथा कार्यालय पनि छ । यही प्रदेशमा प्रदेश सरकारको केन्द्रिय कार्यालय र नियमनकारी निकायहरु पनि छन् ।
तर यो प्रदेशमा १ लाख ४४ हजार ४ सय ४० वटा व्यापारिक प्रतिष्ठानमध्ये ७४.०९ प्रतिशतका दरले १ लाख ७ हजार १५ वटा व्यापारिक प्रतिष्ठान मात्रै सरकारी निकायमा दर्ता भएर सञ्चालन भइरहेका छन् । बाँकी २५.९१ का दरले ३७ हजार ४ सय २५ वटा प्रतिष्ठान कुनै पनि निकायमा दर्ता नभएर आफुखुशी सञ्चालनमा छन् ।
बागमती प्रदेशपछि सबैभन्दा व्यापारिक प्रतिष्ठान भएको दोश्रो प्रदेशमा कोशी परेको छ । कोशीमा ८९ हजार २३ वटा व्यापारिक प्रतिष्ठान सञ्चालन भएपनि यसमध्ये ५९.७४ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका छन् ।
यस्तै तेश्रोमा लुम्बिनी प्रदेश परेको छ । यो प्रदेशमा ८३ हजार व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन । जसमध्ये ७१.८१ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका छन् । यसैगरी चौथोमा मधेश प्रदेशमा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छ । यो प्रदेशमा ५०.५६ प्रतिशतको संख्यामा मात्रै थोक तथा खुद्रा पसल दर्ता भएर सञ्चालनमा छन् ।
गण्डकी प्रदेशमा ५० हजार ५ सय ७५ वटा व्यापारिक प्रतिष्ठान सञ्चालन रहेकोमा ७४.२८ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । प्रतिशतका हिसावले गण्डकी प्रदेशमा नियमन दायराभन्दा बढी व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेको पाइएको छ ।
यस्तै सुदुरपश्चिममा ३३ हजार ३ सय ९८ पसल सञ्चालनमा छन् । जसमध्ये ७०.०६ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । त्यस्तै कर्णालीमा २२ हजार ७ सय २८ वटा व्यापारिक प्रतिष्ठान सञ्चालन रहेकोमा ६५.७६ प्रतिशत मात्रै दर्ता भएका छन् ।
व्यापारमा महिलाको संलग्नता ३५.७३ प्रतिशत
यो सर्वेक्षणअनुसार थोक तथा खुद्रा व्यापारमा महिला मात्रैको सहभागीता ३५.७३ प्रतिशत छ । विकासका दृष्टिकोणले निक्कै पिछडिएको मानिएको कर्णाली प्रदेशका महिलाहरु सबैभन्दा बढी व्यापारमा संलग्न छन् । यो प्रदेशको ४५.९० प्रतिशत महिला व्यापारमा संलग्न छन् ।
सबैभन्दा कम मधेश प्रदेशका महिलाहरु व्यापारमा क्रियाशिल छिन् । यो प्रदेशमा २३ प्रतिशत महिला व्यापारमा क्रियाशिल छिन् ।
३१ प्रतिशत महिलाको स्वामित्वमा व्यापारिक प्रतिष्ठान
देशभरको कूल ४ लाख ९८ हजार ५८ वटा व्यापारिक प्रतिष्ठानमध्ये ३१.७० प्रतिशतको दरले १ लाख ५७ हजार ८ सय ८४ वटा प्रतिष्ठानको स्वामित्व महिलाको नाममा छ ।
प्रतिशतको हिसावले हेर्ने हो भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३५.१० प्रतिशत महिलाको नाममा व्यापारिक प्रतिष्ठानको स्वामित्व छ ।
सबैभन्दा महिला स्वामित्व भएको व्यापारिक प्रतिष्ठान सुदुरपश्चिममा छ । यो प्रदेशको १०.८० प्रतिशत व्यापारिक प्रतिष्ठान मात्रै महिलाको नाममा छ ।
सञ्चालन खर्च सबैभन्दा बढी बागमतीमा
व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्चको हिसावले सबैभन्दा बढी खर्च वागमती प्रदेशमा भएको भेटिएको छ । यो प्रदेशमा प्रति प्रतिष्ठान वार्षिक सञ्चालन खर्च ४ लाख ७० हजार ३ सय ४० रुपैयाँ रहेको पाइएको छ ।
सबैभन्दा कम सञ्चालन खर्च मधेश प्रदेशमा भेटिएको छ । मधेश प्रदेशमा एक प्रतिष्ठानवापत वार्षिक १ लाख २६ हजार ८ सय १ रुपैयाँ सञ्चालन खर्च रहेको पाइएको हो ।
खुद्रा व्यापारमा महिलाको सहभागिता अत्याधिक
सर्वेक्षणअनुसार विभिन्न क्षेत्रगत थोक तथा खुद्रा व्यापारमध्ये सामान्य प्रकारको खुद्रा व्यापारमा सबैभन्दा बढी महिला संलग्न रहेको पाइएको छ ।
सबै प्रकारका कूल व्यापारिक प्रतिष्ठानमा महिलाको सहभागिता ३५.७३ प्रतिशत छ भने पुरुषको सहभागिता ६४.२७ प्रतिशत छ । यसमध्ये खुद्रा व्यापारमा महिलाको सहभागिता ३८.४० प्रतिशत र पुरुषको सहभागिता ६१.६० प्रतिशत रहेको पाइएको छ ।
यो बाहेक अन्य क्षेत्रगत व्यापारमा महिलाको सहभागिता निक्कै कम संख्यामा भेटिएको छ । थोक व्यापारमा महिलाको सहभागिता १९.०६ प्रतिशत छ भने पुरुषको सहभागिता ८०.९४ प्रतिशत छ ।
यस्तै मोटरको व्यापार तथा मर्मत सम्भार व्यापारमा महिलाको सहभागिता सबैभन्दा कम भेटिएको छ । यो व्यापारमा महिलाको सहभागिता १०.९४ प्रतिशत छ भने पुरुषको सहभागिता ८९.०६ प्रतिशत रहेको पाइएको छ ।
सबैभन्दा बढी मुनाफाको दर मोटर व्यापारमा
विभिन्न क्षेत्रगत खुद्रा तथा थोक व्यापारमध्ये सबैभन्दा बढी मुनाफाको दर मोटरको व्यापारमा रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणअनुसार मोटरको व्यापारमा २४.०२ प्रतिशत मुनाफाको दर रहेको देखाएको छ । दोश्रोमा खुद्रा व्यापारमा १८.२८ प्रतिशत मुनाफाको दर रहेको फेला परेको हो । यस्तै थोक व्यापारमा १३.०१ प्रतिशत मुनाफाको दर भएको तथ्याँकले देखाएको छ ।