अष्ट्रेलियामा काम गर्ने नेपालीलाई खुसीको खबर, ड्युटी सकिएपछि मालिकको फोन उठाउन नपर्ने



फाइल तस्बिर

काठमाडौं । अष्ट्रेलियामा थुप्रै नेपाली विद्यार्थीहरु पढ्दै कमाउनका लागि गएका छन् । धेरैको संख्यामा नेपालीहरुको उपस्थिति भएसँगै अष्ट्रेलियामा नेपाली समूदायको विस्तार भएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य कामदारहरुका लागि नयाँ खबर आएको छ । रोयटर्सकाअनुसार अष्ट्रेलियामा काम गर्ने कामदारहरुले आफ्नो ड्युटीको अवधिबाहेकको समयमा आएका अनावश्यक कलहरु बेवास्ता गर्न पाउनेछन् । अष्ट्रेलियामा यससँग सम्बन्धि कानुन ल्याउन लागिएको छ ।

राइट टु डिसकनेक्ट अर्थात सम्पर्कविहीन हुने अधिकारका रुपमा यो कानुनलाई ल्याउन लागिएको हो । उक्त कानुनअनुसार कार्यसमयभन्दा बाहेकको समयमा आउने अनावश्यक फोन तथा म्यासेजहरुलाई बेवास्ता गर्न सकिनेछ । र यसो गरेमा उनीहरुलई कुनै पनि किसिमको जरिवाना हुनेछैन । बरु मालिकलाई भने कानुनको उल्लंघन गरेको आरोपमा कारबाही हुन सक्नेछ ।

यो कानुन कर्मचारीहरुको व्यक्तिगत जीवन र कार्यजीवनबीचको सन्तुलन कायम गर्नका लागि ल्याउन लागिएको समाचारमा जनाइएको छ । अष्ट्रेलियाको संसदमा पेश गरिएको यो विधेयक पारित भएपछि कर्मचारीहरुको आफ्नो जीवनप्रतिको अधिकारलाई सुनिश्चित गर्ने बताइएको छ ।

त्यसो त यस्तै किसिमको कानुन यसअघि फ्रान्स, स्पेन र युरोपेली संघका विभिन्न देशहरुमा छन् । यी देशहरुमा भएको कानुन अनुसार कुनै पनि कर्मचारीले आफ्नो कार्य समय सकिएपछि र कार्यालयबाट बाहिरिएपछि आफ्नो फोन वा सम्पर्क हुने उपकरणलाई अफ गरेर बस्न सक्छन् । र यसो गरेमा कुनै पनि किसिमको कारबाही गर्ने वा जरिवाना गर्ने अधिकार काम दिने संस्था वा मालिकलाई हुँदैन ।


क्लिकमान्डु