एमाले सरकार ढाल्ने खेलमा छैनः ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

सोमवार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघिबढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए ।

उनले भने, ‘यो निकम्मा गठबन्धन, भ्रष्ट गठबन्धन, तस्करी चलाएको छ । रोक्न सकेको छैन । यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुँ¥याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन । यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिशन २०८४ भनेका छौं । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छांै । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ । यो कुनै विचार मिलेको गठबन्धन हो र । यो स्वार्थहरु जोडेर बनाएको गठबन्धन । आफैँ स्वार्थ टकाराएर झिल्का निक्लिरहेको छ । त्यसकारण यस्तो सरकार कति दिन्छ चल्छ ? जतिदिन चल्छ, देशलाई दुःख दिन्छ ।’


क्लिकमान्डु