सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा ६२ प्रतिशत वृद्धि, बिमाशुल्क पनि ५९ प्रतिशतले बढ्यो



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले नाफामा उल्लेख्य वृद्धि गरेको छ । गत वर्षको पुसमा मर्जरमा गएको यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तमा आइपुग्दा नाफामा ६२.९३ प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा कुल ६२.९३ प्रतिशतले वृद्धि देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको नाफा १४ करोड ५२ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्म नाफा बढेर २३ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

नाफासँगै इन्स्योरेन्सको बिमाशुल्क संकलन पनि ५९.७३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तमा २ अर्ब ६८ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको इन्स्योरेन्सले चालु आवको पुस मसान्तसम्म ४ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको हो ।

यस्तै कम्पनीले खुद बिमा शुल्क पनि २ अर्ब १४ करोडबाट बढाएर ४ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै कम्पनीको पोलेसी कर्जाबाट हुने ब्याज आम्दानी पनि गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य बढेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कुल ३ अर्ब ९३ करोड रुपैयाँ पोलेसी धितो कर्जा प्रवाह गरेको बैंकले सोही वर्ष १२ करोड ३७ लाख रुपैयाँ ब्याज उठाएको थियो ।

चालु आवको पुस मसान्तमा भने कम्पनीले कुल ३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेर १७ करोड ७२ लाख रुपैयाँ ब्याज उठाएका हो ।

समग्रमा यस वर्षको पुस मसान्तसम्म कम्पनीको जीवन बिमाकोष पनि २६.६५ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म २४ अर्ब ९ करोड रुपैयाँ रहेको जीवन बिमाकोष चालु आवको पुस मसान्तसम्म आइपुग्दा ३० अर्ब ५१ करोड रुपैयाँमा पुगेको हो ।

समग्रमा चालु आवको पुस मसान्तसम्म आइपुग्दा बिमाशुल्क, ब्याज आम्दानी, जीवन बिमाकोष र लगानीमा देखिएको वृद्धिले कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ । जसले गर्दा एक वर्षमा कम्पनीको नाफा ६२.९३ प्रतिशतले बढ्न पुगेको हो ।

गत वर्षको पुस मसान्तसम्म ८१ करोड ५५ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्म ९५ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ । तुलनात्मक रुपमा यस वर्षको पुस मसान्तसम्ममा प्रथम बिमा शुल्क संकलनमा पनि १७.५७ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै कम्पनीले बिमा नविकरण मार्फत चालु आवको ६ महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ नवीकरण शुल्क संकलन गरेको छ। गत वर्ष १ अर्ब ८६ करोड रुपैयाँ कम्पनीले नविकरण शुल्क संकलन गरेको थियो ।

त्यसो त कम्पनीले दाबीभुक्तानी पनि गत बर्षभन्दा बढी गरेको छ । गत वर्ष ६२ करोड २२ लाख रुपैयाँ बिमितलाई दाबी भुक्तान गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्म कुल १ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तान गरेको छ ।

मर्जरपछि बलियो बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ भने ५ करोड २९ लाख रुपैयाँ अभिकर्तामा खर्च गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ ।


क्लिकमान्डु