गाउँघर साना किसान कृषि र जनचाहना सहकारीले ठगे बचतकर्ताको करिब २ करोड, अख्तियारमा पुग्यो फाइल



दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था’का व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

सहकारीका व्यवस्थापकले १ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ता आक्रोशित बनेका छन् ।

उक्त सहकारीको छानबिन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्थामा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ ।

सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताए ।

दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्थामा पनि रकम हिनामिना भएको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । उजुरी गरेपपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको जनाइएको छ ।

स्थानीय बचतकर्ताका अनुसार त्यहाँ २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेका छन् । सहकारीमा भएको रकम हिनामिनाका बारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए ।


क्लिकमान्डु