टेस्लाका गाडीमा संकेत बत्तिको समस्या, २२ लाख फिर्ता मगायो



एजेन्सी । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारमा बिक्री भएका आफ्ना २२ लाख गाडीहरु फिर्ता बोलाएको छ ।

अर्बपति एलन मस्कको कम्पनी टेस्लाले आफ्ना गाडीहरुको ड्यासबोर्डमा वार्निङ लाइट (संकेत बत्ती)मा रहेको गलत फन्ट साइजका कारण दुर्घटना हुने जोखिम बढेको भन्दै २२ लाख गाडीहरु फिर्ता बोलाएको हो ।

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा निकाय (एनएचटिएसए)ले शुक्रबार टेस्लाले आफ्ना गाडीहरु फिर्ता बोलाएको पुष्टि गरेको छ ।

टेस्ला आफ्नो स्वचालित ड्राइभिङ सहायताको विषयमा हाल एनएचटिएसएको परिक्षणमा रहेको छ । एनएचटिएसएले बताएअनुसार टेस्लाले हाल फिर्ता बोलाएका गाडीहरुमा मोडल एस, मोडल एक्स, २०१७ देखि २०२३ सम्म बनेको मोडल थ्रि, मोडल वाइ र २०२४ मा बनेको साइबर ट्रक सामेल रहेको छ ।

टेस्लाले २ महिनाअघि पनि आफ्ना २० लाख ३० हजार गाडीहरु फिर्ता ल्याएर केही परिवर्तन गरेको जनाएको छ । त्यो समयमा टेस्लाले अटोपाइलट एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम (स्वचालित विशेष ड्राइभर सहायता प्रणाली)मा नयाँ सुरक्षा उपायहरु इन्स्टल गर्नका लागि गाडीहरुलाई फिर्ता ल्याएको थियो ।


क्लिकमान्डु