सन् नेपाल लाइफको नाफा ७.२ प्रतिशतले घट्यो, दाबी भुक्तानी बढ्दा नाफामा दबाब



काठमाडौं । प्रिमियम मुल्यमा आइपीओ निष्कासन गरेको सन् नेपाल लाइफ इन्स्योरेन्सको नाफामा भने गिरावट आएको छ । गत वर्षको पुसको तुलनामा यस वर्षको पुस मसान्तसम्म कम्पनीको कुल नाफामा ७.२ प्रतिशतले कमी आएको हो ।

कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा घटेको देखिएको हो । गत वर्ष पुस मसान्तमा ३५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको पुस मसान्तसम्म ३२ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो ।

कम्पनीको आम्दानी नबढे पनि २१ करोड रुपैयाँले खर्च बढ्दा त्यसको असर नाफामा देखिन पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल १ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको हो ।

यो सँगै दाबीभुक्तानी पनि यस वर्ष बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २९ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

यस्तै कम्पनीले बिमालेख बिक्री गरेवापत बिमितबाट उठाउने प्रिमियम शुल्कमा ९.४३ प्रतिशतले कमी आएको छ । कम्पनीले गत पुस मसान्तसम्म १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ प्रिमियम शुल्क आर्जन गर्दा यस वर्ष भने १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँमात्रै आर्जन गर्न सफल भएको हो ।

चालु आवको पुस मसान्तसम्म इन्स्योरेन्सले कुल १ लाख ३० हजार वटा नयाँ बिमा पोलसी जारी गरेर २४ करोड २७ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको छ। गत वर्षको पुस मसान्तसम्म कम्पनीले २ लाख ४५ हजार बिमा पोलेसी जारी गरेर २६ करोड ४ लाख रुपैयाँ संकलन गरेको थियो ।

समग्रमा यस वर्ष दाबी भुक्तानी, कम्पनीको कुल खर्च बढ्नु र प्रिमियमल शुल्क संकलन घट्नुले पनि नाफामा संकुचन आएको देखिन्छ ।

बिमा पोलेसी धितो राखेर बिमितलाई दिने कर्जाबाट पाउने ब्याज भने इन्स्योरेन्सले बढाएको छ। गत वर्षको दोस्रो त्रैमासमा ९१ लाख रुपैयाँ पोलसी धितोकर्जाबाट ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ करोड ८ लाख रुपैयाँमा आम्दानी गर्न सफल भएको छ।

यो बाहेक बिमा नविकरण पनि यस वर्ष बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब ११ करोड रुपैयाँ नविकरण शुल्क संकलन गरेको हो। गत वर्षको पुस मसान्तमा ९८ करोड रुपैयाँ कम्पनीले बिमा नविकरणबाट संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जिवन बिमा कोष भने ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले दिर्घकालिन लगानीको रुपमा ७ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्दा छोटो अवधिका लागि २ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले आइपीओ निष्कासन पछि चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब २४ करोड रुपैयाँ रहेको चुक्तापुँजीमा ९६ करोड रुपैयाँ कम्पनीले साधारण शेयर जारी गरेरे जुटाएको हो ।

यो बाहेक चाल आवको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले बिमितलाई दिने बोनसदर पनि यथावत नै राखेको । गत आवको पुस समान्तमा २२ रुपैयाँ देखि ७५ रुपैयाँसम्म बिमितलाई बोनस दिएको कम्पनीले यस वर्ष पनि सोही दर कायम राखेको हो।

कम्पनीको प्रतिशेयर आम्दानी २०.५२ रुपैयाँ छ भने नेटवर्थ १८७.०४ रुपैयाँ रहेको छ।


क्लिकमान्डु