प्रहरी जवानले होटलमा बोलाएर श्रीमती र साढे २ वर्षका छोराको गरे हत्या



काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । उनले श्रीमती र साढे २ वर्षाका छोराको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार प्रहरी जवान पिमलाल नेपालीले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् ।

रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए । हत्या गरेको बताएपछि उक्त होटलमा गएर हेर्दा शव भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु