नेपाली फेसबुक प्रयोगकर्तामा हाइलाइट आतंक, के यसरी थाहा हुन्छ फेसबुक सुरक्षित छ वा छैन?



काठमाडौं । केही दिनयता नेपाली फेसबुक प्रयोगकर्तामाझमा हाइलाइट आतंक फैलिएको छ । आफ्नो फेसबुक एकाउन्ट सुरक्षित छ वा छैन भन्ने कुरा थाहा पाउन कमेन्टमा एडदरेट हाइलाइट (@highlight) लेखेर थाहा पाउन सकिन्छ भन्दै नेपाली फेसबुक प्रयोगकर्ताहरुमाझमा यो आतंक फैलिएको छ ।

जबकी यसको पछाडि कुनै पनि किसिमको सत्यता छैन र यसो गर्दैमा फेसबुक एकाउन्ट सुरक्षित छ वा छैन भन्ने थाहा पनि हुँदैन ।

फेसबुकमा रहेका विभिन्न नेपाली पेज तथा विभिन्न प्रयोगकर्ताहरुले नै कमेन्टमा एडदरेट हाइलाइट लेख्दा लेखिएको अक्षर निलो भएमा आफ्नो एकाउन्ट बलियो भएको र कसैले पनि सजिल्यै ह्याक गर्न नसक्ने भन्दै भ्रामक प्रचार गरेका छन् ।

धेरै फलोअर्स भएका पेजहरुले नै यस्तो भ्रामक कुरा सम्प्ररेण गर्दा अहिले नेपाली फेसबुक प्रयोगकर्ताहरुमाझमा यो आतंकका रुपमा फैलिएको छ ।

यस्ता पेज तथा पोस्त गर्ने व्यक्तिहरुले अक्षर निलो भएर नआएमा आफ्नो पेज वा आइडी फलो गर्न, त्यसपछि पनि निलो नआएमा पोस्ट सेयर गर्न जस्ता कुराहरु उल्लेख गरेका छन् । यति गर्दा पनि अक्षर निलो नभएमा प्रयोगकर्ताका एकाउन्ट असुरक्षित रहेको भन्ने भ्रामक कुरा फैलाइएको छ ।

यसरी फैलिएको भ्रामक कुराका कारण अहिले धेरैले यस्ता पोस्टहरु सेयर तथा पोस्ट गर्ने र यस्ता सेयर तथा पोस्ट गरिएका पोस्टहरुको कमेन्टमा पनि एडदरेट हाइलाइट भन्दै लेख्नेहरुको उल्लेख संख्या देख्न सकिन्छ ।

फेसबुकका पेज तथा व्यक्तिहरुले भ्रामक रुपमा फैलाइरहेको फेसबुकको एडदरेट हाइलाइट फिचर वास्तवमा के हो त?

फेसबुकले केही समयअघि एडदरेट हाइलाइट र एडदरेट फलोअर्स भन्ने फिचर ल्याएको थियो । यी फिचरअनुसार कुनै पनि प्रयोगकर्ताले यी कुरा लेखेर कुनै पनि पोस्टमा कमेन्ट गरेमा उसँग कनेक्ट भएमा सम्पूर्ण व्यक्तिहरुलाई सूचित गराउन सकिन्छ।

भ्रामक रुपमा यी दुई फिचरलाई फेसबुक प्रयोगकर्ताको एकाउन्टको सुरक्षासँग जोड्दै प्रचार गरिरहेका पेज तथा एकाउन्टहरुले आफ्ना फलोअर्स बढाउन यो रणनीति अपनाएका हुन् ।

प्रयोगकर्ताहरुले कमेन्टमा आएर एडदरेट हाइलाइट र एडदरेट फलोअर्स कमेन्ट गरेमा उनीहरु सम्पूर्ण साथीहरु पेजसम्म तानिन्छन् र त्यसले पेजको भिजिटर बढाउने तथा पेजमा लाइक पनि बढाउने अपेक्षासहित यस्ता पेजहरुले यो रणनीति अपनाएका हुन् ।

वास्तवमै कसैले आफ्नो फेसबुकको एकाउन्ट सुरक्षित छ वा छैन भनेर जान्न चाहेको खण्डमा त्यो सुविधा फेसबुकले नै दिएको छ ।

फेसबुकको सेक्युरिटी फिचरमा प्राइभेसी चेकअप भन्ने फिचर हुन्छ, जसमा आफैंले आफ्नो एकाउन्ट कतैबाट अनाधिकृत रुपमा सञ्चालन भइरहेको छ वा छैन, कसैले आफ्नो एकाउन्टमा प्रवेश गरेर कुनै पनि किसिमको पोस्ट गरिरहेको छ वा छैन, आफ्नो एकाउन्टबाट कता कता कस्ता पोस्टहरुमा कमेन्ट गरिएका छन् जस्ता कैयौं कुराहरुको समेत जानकारी पाइन्छ र एकाउन्टमा कसैको अनाधिकृत प्रवेश भएको खण्डमा त्यसलाई हटाउन तथा प्रयोगकर्ताको आफ्नो एकाउन्टलाई सुरक्षित बनाउन फेसबुक स्वयःले पनि सहजता सिर्जना गरिदिन्छ ।


क्लिकमान्डु