चितवनमा आगामी साता राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ



काठमाडौं । चितवनमा पहिलोपटक नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी शुक्रबार र शनिबार यो कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम नारायणी नदीको किनारमा आयोजना हुनेछ ।

बोर्डले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनीको आयोजना गरेको हो ।

चितवनमा पनि चिया तथा कफी पिउने बानीको विकास गर्ने गरी यो प्रदर्शनी आयोजना गरिएको बोर्डका निर्देशक डा. दिपक खनालले जानकार दिए ।

‘प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिका पनि सिक्न पाइने छ’, खनालले बताए ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले उक्त प्रदर्शनीको उदघाट्न गर्ने कार्यक्रम तय भएको छ ।

नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहरूको विषयमा जानकारी दिन, सही चियाको सही रूपमा सेवन गर्न र चिया संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको खनालले जानकारी दिए ।

राष्ट्रिय चिया प्रदर्शनीमा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स, टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्य रुपमा सहभागिता रहने बताइएको छ ।


क्लिकमान्डु