संसदको आगामी अधिवेशनमा कानुन निर्माणका लागि सरकारलाई दबाब दिन्छौंः रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानुन निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउने गरी सरकारलाई दिबाब दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गरेका थिए । ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्रस्तुत गरेको परियारले बताए ।

बैठकमा सांसदहरुले संविधानले व्यवस्था गरेका मौलिक हकसँग सम्बन्धित कानुन निर्माणमा पनि पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी अधिवेशनमा पार्टीले कुन-कुन विधेयक पारित गराउनका लागि पहल गर्ने भनेर लिस्ट नै तयार पार्न आगामी माघ २२ गते पुनः पार्टी संसदीय दलको बैठक बोलाएको छ ।


क्लिकमान्डु