त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री’ पसल चलाउने कोही भएनन्, चौथो पटक निकालियो सूचना



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करमुक्त (ड्युटी फ्री) पसल सञ्चालन गर्न कुनै संस्था इच्छुक देखिएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पटक पटक सूचना प्रकाशित गर्दा पनि कुनै संस्थाले शिलबन्दी बोलपत्र पेस नगरेका हुन् ।

यसअघि पटक पटक सूचना प्रकाशित गर्दाप नि आवेदन नपरेपछि पुनः सूचना निकालिएको छ । आजसम्म चौथो पटक सूचना प्रकाशित गरिएको छ ।

यसअघि मंसिर ४ गते सूचना प्रकाशित भएको थियो । पहिलो सूचनामा बोलपत्र पेस नभएपछि दोस्रो पटक १५ दिन अवधिका लागि पुस ४ गते सूचना जारी भयो । उक्त सूचनामा पनि करमुक्त पसल चलाउन कोही तयार भएनन् । त्यसपछि पुस १९ गते ३० दिन समय थपेर सूचना प्रकाशित भयो । उक्त सूचना जारी भए पनि ड्युटी फ्री पसल चलाउने कोही तयार नभपछि आज पुनः सूचना प्रकाशन भएको छ । विमानस्थलमा करमुक्त पसल चलाउन चाहनेले एक महिनाभित्र शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

प्राधिकरणले विमानस्थलको टर्मिनल भवनको आवागमन र प्रस्थान कक्षमा करमुक्त पसल सञ्चालन गर्न इच्छुक संस्था खोजी रहेको छ ।

प्राधिकरणले ५ वर्षका लागि प्रस्थानतर्फ पहिलो तल्लाको २६.११ वर्गमिटर र आवागमनतर्फ ७५.८ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न भनेको छ ।


क्लिकमान्डु