अन्तर्राष्ट्रिय होटेलका प्रतिनिधिद्वारा फिटा संशोधन गर्न माग



काठमाडौं । नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल सञ्चालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) संशोधन गर्न माग गरेका छन् ।

होटेल सञ्चालकहरु अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेटवार्ता गर्दै फिटामा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तर्राष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका छन ।

अन्तर्राष्ट्रिय होटल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुँदै आएको बताउँदै सञ्चालकहरुले उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने औल्याएका छन् ।

अहिले फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरु ल्याउन ठूलो समस्या सिर्जना भएको नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्नेतले बताए ।

अहिले नेपालमा रहेका अन्तरराष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समीक्षा गरी शुरु भएको र ती होटलहरुले पर्यटन क्षेत्रमा पुरर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यतर्फबाट उचित सहयोग हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैं जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै उक्त व्यवस्था कायमै रहे नेपालमा सञ्चालित विदेशी चेन होटल समेत बाहिरिनेसम्म अवस्था सिर्जना हुन सक्ने बस्नेतले जानकारी दिए ।

वस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर त्यहि अनुसार विदेशी मुद्रा आर्जन गर्नका लागि समेत अन्तर्राष्ट्रिय चेनलाई नेपालमा सहज रुपमा आउने वातावरण बनाउनुपर्ने अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका छन् ।

‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तर्राष्ट्रिय चेन होटलले हुने हो,’ वस्नेतले भने, ‘उनीहरुले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन तर, फिटामा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तर्राष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन् ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति वस्नेतसहित नेपालमा सञ्चालित चेन होटलहरुका प्रतिनिधि तथा होटल विकासका दक्षिण एशिया उपाध्यक्ष अनिरुद्ध कुमार, होटल विकासका निर्देशक तथा मेरिएट इन्टरनेशनलका प्रतिनिधी जुही रोयलगायत सहभागी भएका थिए ।


क्लिकमान्डु