बाँसबारीको सरकारी जग्गा प्रकरण: व्यवसायी चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा लाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

चौधरी र थापासहित उक्त प्रकरणमा जोडिएका आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उक्त प्रकरणमा जोडिएका तीन जनालाई आज पक्राउ गरिएको हो ।

सीआईबीका प्रमुख किरण बज्राचार्यकाअनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो ।

चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु