भारतको अन्तरिम बजेट प्रस्तुत: गरिब, महिला, युवा र किसानमा विशेष ध्यान



एजेन्सी । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अन्तरिम बजेट प्रस्तुत गरेकी छिन् । भारतमा चुनावी वर्ष भएको हुनाले अन्तरिम बजेट ल्याइएको हो ।

वित्तमन्त्री सीतारमणले लगातार छैटौं पटक बजेट प्रस्तुत गरेकी हुन् । बिहीबार बजेट प्रस्तुत गर्दै उनले भनिन्, ‘हामीले अन्तरिम बजेटको परम्परालाई जारी राखेका छौं । यहि कारण सरकारले कुनै पनि किसिमको घोषणा गरेको छैन ।’

प्रस्तुत भएको बजेटमा भारतले चार क्षेत्रलाई ध्यानमा राखेको छ । गरिब, महिला, युवा र अन्नदाता (किसान)लाई केन्द्रित भएर भारतको अन्तरिम बजेट ल्याइएको छ ।

अन्तरिम बजेटमा आयकरको स्ल्याबमा भने कुनै पनि परिवर्तन गरेको छैन । त्यस्तै, कुनै पनि कुराको मूल्यलाई वृद्धि गराउने वा घटाउने किसिमका भन्सार करलगायतका करहरुमा पनि कुनै उतारचढाव नगरि भारतीय बजेट ल्याइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो बजेट बिकसित भारतका युवा, महिला, गरिब र किसानमा आधारित रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो देश निर्माणको बजेट हो । म निर्मला जि र उनको टिमलाई बधाई दिन्छु । यसमा भारतको युवा अनुभव प्रतिबिम्बित भएको छ ।’

अन्तरिम बजेटमार्फत स्टार्टअपलाई प्रोत्साहन दिनका लागि कैयौं घोषणा भारतले गरेको छ । यो बजेटमार्फत कर छुट लिने मितिलाई एक वर्ष बढाइएको छ । बजेटमार्फत आयात शूल्कसहित प्रत्यक्ष तथा अप्रत्यक्ष करहरुलाई समान कर दरमा बनाउने प्रस्ताव पनि वित्तमन्त्री सीतारमणले गरेकी छिन् ।

आगामी पाँच वर्षमा २ करोड नयाँ घर बनाउने र १ करोड घरलाई सौर्य उर्जाको लाभ दिनेलगायतका कार्यक्रम पनि उनले ल्याएकी छिन् ।


क्लिकमान्डु