बागबजारको नाता सहकारीले ठग्यो बचतकर्ता, गाँउपालिकाका उपाध्यक्षसहित ९ जना फरार



काठमाडौं । काठमाडौंको बागबजारमा रहेको नाता बचत तथा ऋण सहकारी संस्थाले ४१ बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ रकम हिनामिना गरेको छ ।

सहकारीबाट बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोप जनप्रतिनिधिलाई समेत लागेको छ ।

सहकारीबाट बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै सिन्धुली जिल्लाको फिक्कल गाँउपालिकाका उपाध्यक्ष राजु बरालसहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । ११ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भए पनि बरालसहित ९ जना अझै फरार रहेका छन् ।

ठगीमा संलग्न ११ जनामध्ये दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–५ का सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का संस्थाका कोषाध्यक्ष ३८ वर्षीय अर्जुन थापा पक्राउ परेका छन् ।

फरार रहनेमा सहकारीको अध्यक्ष अम्बरबहादुर थापा, पूर्व उपाध्यक्ष राजु बराल, सञ्चालक समिति सदस्यहरु इन्द्रबहादुर थापा, हरिशचन्द्र माझी, माया कुमारी चौधरी, जयकुमार बाराकोटी, सूर्य कुमारी पुलामी, छबिलाल रानामगर, ओमकुमार थापा फरार रहेका छन् ।

उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको उल्लेख छ । सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने लोभ देखाएर बचतकर्तालाई ठगेको पीडितको गुनासो छ ।

सहकारी ठगहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) को ठगी गर्न नहुने अन्तगर्तको कसुरमा मुद्दा दर्ता गरिएको छ । ठगी रकम बराबरको बिगो कायम गर्दै ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

सहकारीबाट बचतकर्ताको ठगेर फरारको सूचीमा रहेका सिन्धुली जिल्लाको फिक्कल गाँउपालिकाका उपाध्यक्ष बरालले आफूलाई नियोजित रुपमा फसाएको दाबी गरे ।

‘मैले त्यो सहकारी छोडेको ६, ७ वर्ष भइसकेको छ’ उनले भने, ‘मेरो नाम मात्रै जोडेर सहकारी विभागमा उजुरी परेको रहेछ । विभागमा उजुरी परेपछि मैले विभागलाई पहिला पनि जानकारी गराएको थिए । विभागले त्यो बेला तपाईलाई केही समस्या हुँदैन भनेको थियो । फेरि विभागमा जाने र यो विषय फरफारक गर्ने छु ।’

उनले आफू केही दिनमा नै विभागमा पुगेर वास्ताविकता बुझेर समस्याको समाधान गर्ने बताए । ‘६,७ वर्ष अघि नै छोडेको संस्थामा अहिले आएर मैले हस्ताक्षर नै नगरेको फाइल बुझाइएको रहेछ । यो विषय म सम्बन्धित ठाँउमा पुगेर वास्तविकता जानकारी गराउँने छु ।’


क्लिकमान्डु