५३ हजारले ६ अर्बको बिमा त्यागे, सरेन्डर रोक्न बिमा कम्पनीका अफरै अफर



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बिमा सरेण्डर गर्ने बिमितको संख्या ५३ हजार पुगेको छ ।

आर्थिक गतिविधि सुस्त हुनका साथै बिमितको आर्थिक अवस्था कमजोर हुँदा बिमालेख त्याग गर्नेको संख्या बढिरहेको छ । बिमा पोलिसी नवीकरण गर्न नआउने बिमितको संख्या बढ्न थालेपछि अहिले बिमा कम्पनीलाई बिमित रोक्न धौ धौ परेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा प्रिमियम तिर्ने समय बाँकी रहँदै बिचैमा पोलिसी त्याग गर्ने बिमितको संख्या ५३ हजार ११३ पुगेको छ । अर्थात ५३ हजार ११३ वटा बीमालेख बिमितले त्याग गरेका छन् ।

पुस मसान्तसम्ममा बिमितले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बिमालेख त्याग गरेका हुन् । बिमालेख त्याग्नेको संख्या सबैभन्दा बढी साउनमा रहेको थियो ।

साउन महिनामा १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको बिमालेख त्याग हुँदा त्यसपछिका दुई महिना भदौ र असोजमा क्रमशः १ अर्ब १८ करोड २० लाख र १ अर्ब १९ करोड २९ लाख रुपैयाँ बराबरको बिमालेख त्याग गरेका छन् ।

असोजमा १ अर्ब रुपैयाँभन्दा बढी पोलिसी सरेण्डर हुँदा कात्तिकमा भने ७९ करोड रुपैयाँको मात्रै पोलिसी सरेन्डर भएको थियो । अर्थात असोजमा कुल १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बिमालेख त्याग गर्दा कात्तिक महिनामा बिमितले ७९ करोड ४९ लाख रुपैयाँको मात्रै बिमालेख त्याग गरेका हुन् । असोजको तुलनामा कात्तिकमा बिमा त्याग ३२.८ प्रतिशतले घटेको थियो ।

तुलनात्मकरुपमा पहिलो त्रैमासमाभन्दा दोस्रो त्रैमासमा बिमा त्याग गर्नेको संख्यामा केही कमी आएको प्राधिकरणको तथ्यांकले देखाउँछ । कात्तिकमा बिमा त्याग गर्नेको संख्यामा सुधार आएपनि मंसिर र पुसमा बिमा कम्पनीहरुले बिमितलाई पोलिसी सरेन्डर गर्न बाट रोक्न भने सफल भएनन् ।

प्राधिकरणका अनुसार मंसिर महिनामा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बिमालेख त्याग भएकोमा पुस महिनामा १ अर्ब १ करोड ८७ लाख रुपैयाँको बिमालेख त्याग भएको हो ।

चालु आवको ६ महिनामा ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५३ हजार १ सय १३ वटा बिमालेख त्याग भएका छन् ।
प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर पोलिसी सरेन्डरमा पनि परेको बताउँछन् । ‘अर्थतन्त्रको अवस्था सुस्त छ,’ उनले भने, ‘आम्दानीभन्दा खर्च बढि हुँदा बिमा नविकरण गर्न नसक्दा त्याग गर्नेको संख्या बढ्ेको हो ।’

कुन कम्पनीको कति बिमालेख सरेण्डर ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा १४ वटा जीवन बिमा कम्पनी मध्ये २ वटा कम्पनीको बिमालेख त्याग रकम अर्ब भन्दा बढी रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बिमालेख त्याग वापतको रकम अर्ब भन्दा बढी रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको १५ हजार ४७ वटा बिमालेख त्याग हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार १ सय २४ वटा बिमालेख त्याग भएका छन् ।

यस्तै, राष्ट्रिय बिमा कम्पनीको ५८ करोड ८६ लाख रुपैयाँ बराबरको ६ हजार ६ सय ८ वटा बिमालेख त्याग हुँदा नेसनल लाइफ इन्स्योरेन्सको ४३ करोड २३ लाख रुपैयाँ बराबरको ३ हजार ३७ वटा बिमालेख त्याग भएका छन् ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ४३ करोड २१ लाख रुपैयाँ बराबरको ४ हजार ६ सय १५ वटा बिमालेख त्याग हुँदा एशियन लाइफ इन्स्योरेन्सको ४२ करोड ३१ लाख रुपैयाँ बराबरको ४ हजार ९ सय वटा बिमालेख त्याग भएका छन् ।

सुर्यज्योति लाइफ इन्स्योरेन्सको भने ३७ करोड ५४ लाख रुपैयाँ बराबरको २ हजार ५ सय २८ वटा बिमालेख त्याग भएका छन् ।
त्यसैगरी मेट लाइफ इन्स्योरेन्सको १९ करोड ९७ लाख रुपैयाँ बराबरको २ हजार २६ वटा, सानिमा रिलायन्सको ८ करोड ८९ लाख रुपैयाँ बराबरको ८ सय ७५ वटा, सिटिजन्स लाइफ इन्स्योरेन्सको ६ करोड ९३ लाख रुपैयाँ बराबरको १ हजार ९२ वटा बिमालेख त्याग भएका हुन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भने सबैभन्दा थोरै बिमालेख त्याग भएको छ । यी कम्पनीहरुको क्रमशः ३ करोड ११ लाख रुपैयाँ, ४ करोड ४९ लाख, ५ करोड ९१ लाख रुपैयाँ बराबरको बिमालेख त्याग भएका हुन् ।

बिमित रोक्न बिमा कम्पनीका अफरै अफर

बिमा गरेर बिचैमा त्याग गर्ने बिमित बढ्न थालेपछि बिमा कम्पनीले विभिन्न छुट सार्वजनिक गर्दै आएका छन् । बिमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिनेदेखी नविकरण शुल्कमा समेत छुट दिने अफर बिमितलाई दिँदै आएका छन् । तर अफरकै बीच पनि बिमालेख त्याग्ने बिमितलाई रोक्न भने कम्पनीहरुले सकेका छैनन् ।

हिमालयन लाइफ इन्स्योरेन्सले मर्जर हुनुभन्दा अगाडि बिमा गराएका बिमितलाई बिमा त्याग गर्नबाट रोक्नका लागि बिलम्ब शुल्क वापतको जरिवाना नै नलिने घोषणा गरेको छ । यसका लागि कम्पनीले माघ १५ गतेसम्म बिमितलाई बिमा नवीकरण गर्न आउन आग्रह गरेपनि बिमित नआएपछि दोस्रोपटक पनि सोही अफरसहित बिमा नवीकरण गर्न बिमितलाई आग्रह गरेको छ ।
हिमालयनले बिमा नवीकरण गर्ने ग्राहकलाई बिलम्ब शुल्कमा न्यूनतम २५ प्रतिशत देखि अधिकतम १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले भने पटक पटक सार्वजनिक सूचना नै जारी गरेर बिमितलाई बिमा नवीकरण गर्न आग्रह गरिरहेको छ । सूर्यज्योती लाइफ इन्स्योरेन्सले नवीकरण समयमा नै गर्न तथा ऋण लगेका ऋणीलाई समेत सम्र्पकमा आउन निरन्तर सार्वजनिक सूचना प्रकाशित गरिरहेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बिमितलाई रोक्न छुटकै साहारा लिएको देखिन्छ । प्रभु महालक्ष्मीले नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा बिमितलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो ।

यस्तै सबैभन्दा धेरै बिमा त्याग हुने नेपाल लाइफ इन्स्योरेन्सले पनि छुट दिँदै बिमितलाई रोक्न खोजेको छ । नेपाल लाइफले बिमा नवीकरण नगरेका बिमितले नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छ भने एशियन लाइफ इन्स्योरेन्सले पनि यस्तो शुल्कमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

यी बाहेकका जीवन बिमा कम्पनीहरुले पनि बिमित रोक्न शुल्क मिनाहदेखि शुल्कमा छुटसम्मका अफरहरु ल्याउँदै आएका छन् । तर बिमितको बिमा त्याग गर्ने क्रममा भने कमी आएको देखिँदैन ।


सम्झना घिमिरे