बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्



काठमाडौं । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।

उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए ।

उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए । उनले बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राखे । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे ।

यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताए ।

अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताए । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताए ।

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए ।

उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाइ छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ ।

उनले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राखे ।


क्लिकमान्डु