जथाभाबी सम्पत्ति बिमालेख जारी गर्ने कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी



काठमाडौं । सम्पत्ति बिमा निर्देशन, २०८० विपरित सम्पत्ति बिमा गराउने बिमा कम्पनीलाई कारबाही गर्ने नेपाल बिमा प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै सम्पत्ति बिमा निर्देशन २०८० पालना गर्न निर्देशन दिएको हो ।

निर्जीवन बिमा कम्पनीहरुले सम्पत्ति बिमा निर्देशन, २०८० बिपरित मोटर बिमालेख, सामुन्द्रिक बिमालेखसहित ७ प्रकारका बिमालेख अन्तर्गत रक्षावरण हुने जोखिमका लागिसमेत सम्पत्ति बिमालेख जारी गरेको भन्दै प्राधिकरणले नगर्न चेतावनी दिएको हो ।

सम्पत्ति बिमा निर्देशन,२०८० को निर्देशन नं. ५ को ४ अन्र्तगत निर्जीवन बिमा कम्पनीहरुले मोटर बिमालेख, सामुन्द्रिक बिमालेख, हवाई बिमालेख, इन्जिनियरिङ बिमालेख, कृषि पशुंपक्षी तथा जडिबुटी बिमालेख, नगद तथा मार्गस्थ बिमालेख र बैंकर्स को क्षतिपूर्ति बीमालेख लगायतका विविध बिमा अन्तर्गत रक्षावरण हुने जोखिमको लागि सम्पत्ति बिमालेख जारी गर्न नपाउने व्यवस्था छ ।
तर केहि निर्जीवन बिमा कम्पनीहरुले यस्तो खालको बिमालेख जारी गरेको पाएपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कारबाही अगाडि बढाउने बताएको हो ।
प्राधिकरणले सम्पत्ति बिमा निर्देशन, २०८० बिपरित गएर बीमालेख जारी गर्ने कम्पनीलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने जनाएको छ।


क्लिकमान्डु