महानगरवासीको मुहारमा खुशी र सुखको अनुभुति ल्याउन निरन्तर प्रयास गरिरहेका छौं: उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।

उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् ।

उनले समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पारिन ।

‘समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी हो । यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको छ । नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा हामी प्रतिवद्ध छौँ,’ उनले भने, ‘महानगरवासीको मुहारमा खुशी र सुखका अनुभुति ल्याउने निरन्तर रुपमा प्रयासरत छौँ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको यो सभाको पनि उद्देश्य र अर्थ हो । यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुनेछन् ।’


रवि धिताल