एलन मस्कको कम्पनीले पहिलो पटक मानिसको दिमागमा चिप राख्यो, दिमागबाटै कम्प्युटर चलाउन सकिने



एजेन्सी । टेस्ला तथा स्पेस एक्ससहित कैयौं कम्पनीका मालिक अर्बपति एलन मस्कको स्टार्टअप कम्पनी न्यूरोलिंकले पहिलो पटक मानिसको दिमागमा चिप राखेको छ ।

न्युरोलिंकले पहिलो पटक मानिसको दिमागमा शल्यक्रियामार्फत चिप राखेको हो । उक्त चिप एउटा सिक्काको आकारको रहेको छ र मानिसको दिमागबाट कम्प्युटरसँग प्रत्यक्ष सञ्चार गर्न सक्ने सुविधा दिने कम्पनीले दाबी गरेको छ ।

मस्कले सामाजिक सञ्जाल एक्समार्फत पहिलो पटक मानिसको दिमागमा चिप राखेको जानकारी दिएका छन् । उनकाअनुसार २९ जनवरीमा यो शल्यक्रिया भएको थियो । सुरुवातमा शल्यक्रिया भएको मानिसको अवस्था सामान्य रहेको र आशाजनक परिणाम देखिएको उनले बताएका छन् ।

न्युरोलिंककाअनुसार यो चिपको सहयोगले प्यारालाइसिस भएका मान्छेले पनि दिमागबाटै कम्प्युटर चलाउन सक्नेछन् ।

मस्कको कम्पनी न्युरोलिंकलाई सन् २०२३ को सेप्टेम्बरमा मानिसको दिमागमा चिप राखेर परिक्षण गर्ने अनुमति प्राप्त भएको थियो । इन्डिपेन्डेन्ट इन्स्टिट्युसनल रिभ्यु बोर्डले अनुमति दिएसँगै मस्कको कम्पनीले यो प्रक्रिया अघि सारेको थियो ।

न्युरोलिंककाअनुसार अहिले यो परिक्षणका रुपमा रहेको छ । यसमा आगामी ६ वर्षसम्म अनुसन्धान तथा अध्ययन हुनेछ । कम्पनीकाअनुसार या परिक्षण ती मानिसहरुमाथि गरिनेछ जसमा सर्वाइकल स्पइनल कार्डमा चोट लागेको वा एमियोट्रोफिक लेटरल स्क्वलेरिसस (एएलएस)का कारण क्वाड्रिप्लेजियाबाट पीडित छन् । र यस्ता मानिसको उमेर कम्पतीमा २२ वर्ष हुनुपर्ने छ।


क्लिकमान्डु