बजेटको पूर्वतयारीका विषयमा अर्थमन्त्रीले विभिन्न मन्त्रालयका सचिव र योजना आयोगसँग छलफल गर्दै



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको पूर्व तयारीका विषयमा अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न मन्त्रालयका सचिव र योजना आयोगसँग छलफलका लागि बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे अर्थमन्त्रालयमा हुने बैठकमा मन्त्रालय मातहतका सबै विभाग, महाशाखा प्रमुख, विकासे मन्त्रालयका सचिव योजना आयोगका उपाध्यक्ष एवं सदस्यलाई आमन्त्रण गरिएको छ ।

मंगलबार बस्ने बैठकमा भौतिक पूर्वाधार, सहरी विकास, पर्यटन, स्वास्थ्य, उद्योग, रक्षा लगायतका पुँजीगत खर्च धेरै गर्ने मन्त्रालयका सचिवहरुको सहभागिता रहने छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा पुरानो दायित्वका लागि बजेट प्रस्ताव नगर्ने र नयाँ नयाँ कार्यक्रम मात्र राख्ने क्रम बढेपछि आगामी आर्थिक वर्षको बजेटमा कुनै गल्ती नगर्न भन्दै अर्थमन्त्रीले बैठक बोलाएका हुन् ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको सिलिङ तोक्नु अगावै अर्थ मन्त्रालयले समेत बजेटको पूर्वतयारी सुरु गरेको हो । नेपालको संविधानमा संघ सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था छ ।

विगतका वर्षहरुमा वैशाख अन्तिम सातामात्र बजेटका मार्गनिर्देशक सिद्धान्त तथा प्राथमिकता संसदमा पेस हुने गरेकोमा यस पटक सरकारले फागुन दोस्रो साता बजेटका मार्गनिर्देशक सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी गरेको छ ।

मार्गनिर्देशक सिद्धान्त र प्राथमिकताका विषयगत प्राथिमकताका विषयमा छलफल गर्न आज पहिलो बैठक सुरु भएको हो ।

आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनमा योजना आयोगले माघ मसान्तसम्म बजेटको सीमा तोक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार आयोगले पनि बुधबारदेखि विषयत मन्त्रालयसँग छलफल गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु