हकप्रद सेयर निष्कासन गरेर ऋण तिर्न लागेको बाराही हाइड्रोपावरका यी हुन् ठूला सेयरधनी



काठमाडौं । हकप्रद सेयर निष्कासन गरेर बैंकको ऋण तिर्ने तयारीमा रहेको बाराही हाईड्रोपावर कम्पनीको ठूला सेयरधनीमा ८ व्यक्ति रहेका छन् ।

कम्पनीले २५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न आठौं साधारणसभाबाट पारित गरेको छ । कम्पनीले २५ करोडको हकप्रद सेयर निष्कासन गरेर बैंक तथा वित्तीय संस्थाको १० करोड ९० लाख रुपैयाँ कर्जा भुक्तानी गर्ने जनाएको छ ।

बैंकले सहवित्तियकरणका बैंक तथा वित्तिय संस्थाहरूलाई २०८० असार मसान्तसमम २० करोड ३ लाख ६५ हजार ९९२ रुपैयाँ साँवा तिर्न बाँकी रहेको छ भने १ करोड ७४ लाख ८६ हजार ५२५ रुपैयाँ व्याज तिर्न बाँकी रहेको छ ।

हाईड्रोपावरले बैंकको सावाँ र ब्याज गरी २१ करोड ७८ लाख ५२ हजार ५१७ रुपैयाँ तिर्न बाँकी रहेको छ । जनतालाई हकप्रद सेयर निष्कासन गरेर १० करोड ९० लाख रुपैयाँ ऋण तिरे पनि १० करोड ८८ लाख ५२ हजार ५१७ रुपैयाँ बाँकी नै रहन्छ ।

बाराही हाइड्रोपावरमा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक तथा रिलायन्स फाइनान्स लगायतको कर्जा लगानी रहेको छ ।

कम्पनीको अध्यक्षमा रामेश्वर पराजुली रहेका छन् भने विदुर अधिकारी, यशोदा कुमारी भट्ट जोशी, शिव सागर शर्मा र स्वतन्त्र सञ्चालकमा ज्योति दाहाल रहेका छन् । कम्पनीको सीईओमा सूर्यप्रसाद अधिकारी रहेका छन् ।

कम्पनीको ठूला सेयरधनीमा ८ जना व्यक्ति रहेका छन् । जसमा सबैभन्दा बढी सेयर स्वामित्व सूर्यप्रसाद अधिकारीको ५ करोड ५७ लाख ६७ हजार, अनमोल प्रकाश सिंहको १ करोड ७३ लाख ६ हजार, डिल्लीराम पंगेनीको १ करोड २५ लाख रुपैयाँको सेयर स्वामित्व रहेको छ । यस्तै रामचन्द्र अधिकारीको १ करोड ६ लाख, अश्मी उपाध्यायको ९८ लाख ८५ हजार, लक्ष्मी नारायण पराजुलीको ६४ लाख ७८ हजार, सर्बजा अधिकारीको २५ लाख र सागर भट्टराईको २५ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीले सञ्चालक समिति अध्यक्षलाई भत्ता बापत प्रति बैठक ३ हजार ५०० सय र संचालकलाई प्रति बैठक ३ हजार रुपैयाँ दिने गरेको छ । यस्तै आमन्त्रितलाई प्रति बैठक २ हजार ५०० रुपैयाँका दरले बैठक भत्ता दिने गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको छ । प्रति सेयर आम्दानी ४९ पैसाले ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ५७ रुपैयाँ रहेको.छ । कम्पनीले सेयरधनीलाई लाभांश दिएको छैन ।


क्लिकमान्डु