विकासमा चीनसँग सहकार्य गर्न इच्छुक छौँः शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको उनले बताए । चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको कोइरालाको भनाइ छ ।

‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाईंहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ । नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ’ उनले भने ।

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए।


क्लिकमान्डु