विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर अमेरिकामा दिइयो एक जनालाई मृत्युदण्ड



एजेन्सी । अमेरिकामा एकजनालाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।

अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई उक्त ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइएको हो । उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकाको सर्वोच्च अदालतले ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको थियो ।

केनेथ युजिन स्मिथका वकिलहरूले त्यसलाई ‘क्रूर र अस्वाभाविक’ सजाय भन्दै रोक्न गरेको निवेदन न्यायाधीशहरूले दुई पटक अस्वीकार गरेका थिए ।

विपक्षीहरूले नाइट्रोजन ग्यासले अनावश्यक यातना हुने र यदि त्यो चुहिएमा छेउछाउमा उपस्थित मानिसहरूलाई हानि पुग्ने तर्क गर्दै आएका थिए । ५८ वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो । उनलाई एलाबामा राज्यले तोकेको मृत्युदण्डको अवधि स्थानीय समयानुसार शुक्रवार सकिन लागेको थियो ।

सन् १९८८ को मार्चमा १ हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए।

अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मिसावटरहित नाइट्रोजन सुँघ्दा शरीरका कोशहरू क्षतिग्रस्त हुन्छन् र मानिसको मृत्यु हुन्छ ।

एलाबामाका अधिकारीहरूका अनुसार नाइट्रोजन सुँघाइएको केही सेकेन्डमै स्मिथले होस गुमाउने अनि केही मिनेटमा उनको मृत्यु हुने बताएका थिए ।


क्लिकमान्डु