रविको बचाउ गर्दै पूर्वबैंकर अनिल शाहले भने- चेक जम्मा भएको हो, खातामा पैसा आएको छैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बचाउमा पूर्वबैंकर अनिल केशरी शाह खुलेर लागेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका शाहले रवि लामिछानेको खातामा १ करोड ८० लाखको चेक जम्मा भएको तर, पैसा भने एक रुपैयाँ पनि नआएको दाबी गरे ।

बैंकको ट्रेलरमा बस्ने कर्मचारीले डिपोजिट स्लिपमा रिसिभ भनेर छाप हानेर एक कपी डिपोजिट गर्नेलाई दिने भन्दै लामिछानेको खातामा घण्टी भने नबजेको बताए ।

लामिछानेको वचाउमा शाहले यसो भने

रवि लामिछानेको केशमा मात्रै यस्तो हुने होइन, अरुमा पनि यस्तो हुन्छ । बैंकिङ प्रणालीमा कोही मेरो खातामा पैसा डिपोजिट गर्न आयो भने कुनै पनि शाखाबाट डिपोजिट भौचर भर्नुपर्छ । डिपोजिट गर्दा नगद छ भने निश्चित रकम भन्दा बढी हो भने केही प्रश्न सोधिन्छ, चेक हो भने केही सोधिँदैन ।

भौचर भनेपछि लाइन लागेर टेलर काउन्टरमा दिन्छौं । टेलरवालाले त्यो हेर्छ, नाम र खाता नम्बर हेर्छ मिलेको छ भने चेकमा भएको रकम हाल्छ र इन्टर गर्छ । डिपोजिट स्लिपमा रिसिभ भनेर छाप हानेर एक कपी डिपोजिट गर्नेलाई दिन्छ । त्यो रकम टेलरमा इन्टर गरेपछि मेरो खातामा क्रेडिट भनेर घन्टी बज्छ । त्यो चेक बैंकको चेक क्लियरिङ सिस्टमबाट सम्बन्धित बैंकमा जान्छ । सम्बन्धित बैंकबाट चेकमा उल्लेख भएको पैसा छ की छैन, मिति मिलेको छ की छैन, हस्ताक्षर मिलेको छ की छैन हेर्छ । सबै मिलेको छ भने त्यो बैंकको खाता डेबिट गर्छ र जुन बैंकबाट चेक आएको हो त्यो बैंकको खाता क्रेडिट गरेर म्यासेज पठाउँछ । चेक क्लियर भएको छैन भने घन्टी बज्दैन । स्टेटमेन्टमा हेर्दा क्रेडिट पनि देखिन्छ, डेबिट पनि देखिन्छ । पैसा नपुगे चेक रिटर्न हुन्छ । चेक रिटर्न भएपछि खातामा पैसा आउँदैन ।

यो एक करोड ८० लाखको चेक डिपोजिट भएको हैन भन्दैनौं हामीले । सभापतिज्यूले पनि भन्नु भएको छैन । डिपोजिट भएको हो । डिपोजिट रिसिभ पनि पाउनु भयो । तर, सभापति ज्यूले पैसा पाउनु भएन । त्यसमा इन सफिसियन्ट फण्ड भनेर फर्किएको भनेर चिठी लेखिएको छ । जुन खाताबाट चेक लेखियो त्यहाँ पैसा पुगेन । चके फर्केर आयो । उहाँको खाता डेबिट भयो । कुरै सकियो । उहाँको मोबाइलमा घन्टी पनि बजेन । क्रेडिट भएको एकै छिनमा डेबिट भएको हो । रवि लामिछानेको खातामा चेक डिपोजिट भएको हो पैसा एक रुपैयाँ पनि आएको छैन । ग्लोबल आइएमई बैंकको शाखाले पनि चिठी दिएको छ ।


क्लिकमान्डु