लाइसेन्सका लागि आफ्नै सवारी साधन प्रयोग गर्न दिन सर्तकता केन्द्रको निर्देशन



काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले आइतबार सात वटै प्रदेश सरकारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई निर्देशन दिदैं सबारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) को क्रममा परीक्षार्थीले आफ्नो सबारी साधन प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सबारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) को क्रममा प्रशिक्षण केन्द्रले आफुखुशी मूल्य असुल गरी प्रशिक्षण केन्द्रको सबारी साधन मात्रै प्रयोग गर्न पाउने बाध्यतात्मक व्यवस्था गरेको थियो । यसले गर्दा प्रशिक्षार्थीले प्रशिक्षण केन्द्रलाई चर्को मूल्य तिर्न बाध्य भएका थिए ।

केन्द्रले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ सहित अन्य कानूनमा पनि परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन मात्रै प्रयोग गर्नुपर्ने कुनै पनि प्रकारको बाध्यात्मक व्यवस्था नगरेको उल्लेख गर्दै परीक्षार्थीले परीक्षाको क्रममा आफ्नो सबारी साधन निर्वाध रुपमा प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।

केन्द्रले पछिल्लो समयमा गरेको यो व्यवस्थालाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य (सरोज) प्रसाद सिटौलाले स्वागत गरेका छन् । उनका अनुसार सबारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) को क्रममा प्रशिक्षण केन्द्रले अनुचित रुपमा परीक्षार्थीबाट आफुखुशी मूल्य असुल गरी ठूलो सास्ती दिदैं आएका थिए ।


क्लिकमान्डु