बैंकहरुको खराब कर्जा ३८७ प्रतिशतसम्मले बढ्यो, ९ वटाको ४% भन्दा बढी, कुमारीको धेरै



काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकिङ प्रणालीमा देखिएको छ । ०७९ पुसको तुलनामा ०८० पुसमा सञ्चालनमा रहेका २० बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ भने कर्जा ४७.१२ प्रतिशतले बढेर औसत ३.२६ प्रतिशत पुगेको छ ।

बैंकहरुको घट्दो नाफा र बढ्दो खराब कर्जाले आगामी दिनहरुमा अर्थतन्त्र थप संकटमा जाने सहजै अनुमान गर्न सकिन्छ । किनभने, सबैभन्दा बढी कर्पोरेट ट्याक्स तिर्ने बैंकिङ क्षेत्रकै नाफा नराम्रोसँग प्रभावित भएपछि सरकारले असूल गर्ने कर पनि घट्ने देखिएको छ ।

लक्ष्यभन्दा निकै कम मात्रै राजस्व संकलन भइरहेको अवस्थामा सरकार थप दबाबमा पर्ने देखिन्छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कर्जा खासै बढ्न सकेको छैन भने प्रवाह भएको कर्जा असूलीमा समस्या छ।

२०७९ पुसमा औषतमा २.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा ४७.१२ प्रतिशतले बढेर ३.२६ प्रतिशत पुगेको छ ।

यो अवधिमा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको रहेको छ । कुमारीको खराब कर्जा ४.९७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको खराब कर्जा ५७.७७ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने बैंकलाई कारबाही गर्छ । जसकारण कुमारी बैंक कर्जा असूलीमा आक्रामकरुपमा लाग्नुपर्ने देखिएको छ ।

सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ । ०८० पुसमा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ। यो पनि गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढेको हो । ०७९ पुसमा बैंकको खराब कर्जा ०.५५ प्रतिशत रहेको थियो ।

बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको वित्तीय अवस्था अनुसार ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ । ३ देखि ४ प्रतिशतको बीचमा खराब कर्जा हुनेमा सरकारी लगानीका २ वटा अर्थात् राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमात्रै छन् ।

४ बैंकको खराब कर्जा २ देखि ३ प्रतिशतको बिचमा छ भने २ प्रतिशतभन्दा कम खराब कर्जा हुनेमा ४ बैंक रहेका छन् ।

एसबिआई बैंकको खराब कर्जा ३८७ प्रतिशतसम्मले बढ्यो

चालु आवको दोस्रो त्रैमाससम्म नेपाल एसबिआई बैंकको खराब कर्जा ३८७.२३ प्रतिशतले बढेर २.२९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.४७ प्रतिशत रहेको थियो ।

यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा १९९.३५ प्रतिशतले बढेर ४.६७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.५६ प्रतिशत रहेको थियो ।

प्रभु बैंकको खराब कर्जा १४७.४७ प्रतिशतले बढेर ४.९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.९८ प्रतिशत रहेको थियो । सानिमा बैंकको खराब कर्जा १२३.३७ प्रतिशतले बढेर १.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७७ प्रतिशत थियो । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १२२.२२ प्रतिशतले बढेर १.६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७२ प्रतिशत रहेको थियो ।

२०८० पुस मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा ३१.२९ प्रतिशतले बढेर ४.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७७ प्रतिशत रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा २८.०३ प्रतिशतले बढेर ४.७५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७१ प्रतिशत थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको खराब कर्जा ६०.२७ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९२ प्रतिशत थियो ।

नेपाल बैंकको खराब कर्जा ४४.६९ प्रतिशतले बढेर ४.५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.११ प्रतिशत रहेको थियो ।

प्राइम बैंकको खराब कर्जा ४४.८३ प्रतिशतले बढेर ४.०७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.८१ प्रतिशत थियो ।

सिटिजन्स बैंकको खराब कर्जा ३६.१२ प्रतिशतले बढेर ४.०७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९९ प्रतिशत थियो ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४१.५७ प्रतिशतले बढेर ३.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.७९ प्रतिशत थियो ।

एनएमबि बैंकको खराब कर्जा २७.६७ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.२४ प्रतिशत थियो ।

माछापुच्छ्रे बैंकको खराब कर्जा ८५.८१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.४१ प्रतिशत थियो ।

यस्तै एनआईसी एशिया बैंकको खराब कर्जा ९५.०८ प्रतिशतले बढेर १.१९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.६१ प्रतिशत थियो ।

तीन बैंकको खराब कर्जा घट्यो

पुस मसान्तसम्म १७ वटा बैंकको खराब कर्जा बढे पनि ३ बैंकको भने घटेको छ । खराब कर्जा घटाउनेमा कृषि विकास बैंक, सिदार्थ बैंक र नबिल बैंक रहेका छन् ।

कृषि विकास बैंकको खराब कर्जा ३३.१८ प्रतिशतले घटेर ३.०२ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यस्तै सिदार्थ बैंकको पनि खराब कर्जा १०.८० प्रतिशतले घटेर २.५६ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा २.८७ प्रतिशत थियो । यस्तै नबिल बैंकको खराब कर्जा १७.८० प्रतिशतले घटेर १.२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४६ प्रतिशत रहेको थियो ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघेको एक वर्ष पुगेको कर्जालाई खराब कर्जाको रुपमा लिइन्छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई बैंकहरुले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै ३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

बैंकले दिएको कर्जा ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहेको छ ।

१ वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जामा बैंकले शतप्रतिशत प्रोभिजन गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु