हचुवाको भरमा राष्ट्रिय गौरव आयोजना घोषणा गर्दा समस्या: मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हचुवाको भरमा राष्ट्रिय गौरवका आयोजनामा योजनाहरू समावेश गरिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री ज्वालाले हचुवाको भरमा योजनाहरु समावेश हुँदा समस्या भएको जनाए ।

‘हचुवाको भरमा जस्तो पायो त्यस्तो आयोजनालाई समावेश गर्दा समस्या आयो’उनले भने । मन्त्री ज्वालाले बहुवर्षीय आयोजनाको लागि छुट्टै छाता ऐन ल्याउन आवश्यक रहेको बताए ।

उनले कानुनहरू निक्कै पुरानो हुँदा विकास निर्माणको काम गर्न समस्या भएको तर्क गरे ।

मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन निक्कै पुरानो र अव्यावहारिक भएको बताउँदै सार्वजनिक खरिद ऐनलाई समय सुहाउँदो परिमार्जन गर्नु पर्ने बताए ।

राष्ट्रिय गौरवको आयोजनामा जनशक्ति र बजेट अभाव देखिएको बताउँदै उनले राष्ट्रिय गौरव आयोजनामा समावेश गरिने आयोजनाको वर्गीकरण गर्नु पर्ने बताए । उनका अनुसार ५० अर्वमाथिको आयोजनालाई मात्रै राष्ट्रिय गौरव आयोजनामा समावेश गर्नु पर्ने सुझाव थिए ।

१० अर्ब माथिको आयोजनालाई रुपान्तकारी आयोजनाभित्र राख्नु पर्ने उनको भनाइ छ । राष्ट्रिय गौरव आयोजना अन्तर्गत भरतपुर, विराटनगर अनि मूलपानीमा राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागिएको मन्त्री ज्वालाले जानकारी दिए । अधिकांश आयोजनामा बजेट, रुख बिरुवा, जग्गा अधिग्रहण र क्षतिपूर्ति लगायतको समस्या देखिएको उनले बताए ।


क्लिकमान्डु