२ अर्ब ६८ करोड लागतमा नवलपरासी पूर्वको जिल्ला सदरमुकाम बन्ने



काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला सदरमुकाम २ अर्ब ६८ करोड २८ लाख रुपैयाँ लागतमा बन्ने भएको छ । सदरमुकाम निर्माण गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ ।

प्रतिवेदनअनुसार जिल्ला सदरमुकामको गुरुयोजनाअनुसार भौतिक पूर्वाधारहरुको विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर ३ मा निर्माण हुनेछ ।

चुरे क्षेत्रअन्तर्गतको दुन उपत्यकाको १२४.८९ हेक्टर क्षेत्रफलमा सदरमुकाम निर्माण हुनेछ । प्रतिवेदनअनुसार संघीय कार्यालय १ लाख ३८ हजार १२२ वर्गमिटर, प्रादेशिक कार्यलय क्षेत्र ९५ हजार २५०.४८ वर्गमिट, स्थानीय सरकार कार्यालय क्षेत्र १५ हजार ४६१.६९ वर्गमिटर र सुरक्षा कार्यालय क्षेत्र ५२ हजार ३५६.९५ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।

त्यस्तै, २६५५.९६ वर्गमिटर क्षेत्रफलमा सुविधा भवन क्षेत्र, ३९ हजार ६९८.९१ वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र, ४ लाख ८० हजार.६३६.२२ वर्गमिटर क्षेत्रफलमा हरित क्षेत्र र २ लाख २१ हजार २९.८७ वर्गमिटर क्षेत्रफलमा सडक क्षेत्र गरी १२ लाख ४८ हजार ८४७.५४ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।

प्रतिवेदनका अनुसार पार्किङ स्थल ४ वटा हुनेछ । उक्त पार्किङ स्थलमा ९५० वटा कार र एक सय वटा बस अट्नेछन् । गुरुयोजनाअनुसार सदरमुकाममा कार्यालय भवन, कर्मचारी क्वाटर, साझा भवन, सेवा प्रदान गर्ने भवन गरी ४५ वटा भवन बन्नेछ ।
संघअन्तर्गत २२ वटा ब्लक बन्नेछ । उक्त ब्लक १ लाख ३८ हजार १२२.३८ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ । त्यस्तै, प्रदेश अन्तर्गतको ११ वटा ब्लक ९५ हजार २५०.४८ वर्गमिटर क्षेत्रफलमा, स्थानीय तहअन्तर्गतको १ वटा ब्लक १५ हजार ४६१.६९ वर्गमिटर क्षेत्रफलमा र सुरक्षा निकायअन्तर्गतको २ वटा ब्लक ५२ हजार ३५६.९५ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।
प्रतिवेदनका अनुसार सामुदायिक भवन ७ वटा ब्लक बन्नेछ । उक्त भवन ३ हजार ६३५.०८ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ । साथै, सर्भिस भवनको ३ वटा ब्लक र १ लाख ३९ हजार ६६२.६३ वर्गमिटर क्षेत्रफलमा खेलकुद परिसर हुनेछ ।

२०७४ सालमा नवलपरासी जिल्लालाई टुक्राएर दुईवटा बनाइएको थियो । नवलपरासी बर्दघाट सुस्ता पूर्व र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला बनाइएसँगै जिल्ला सदरमुकाममा आवश्यक भौतिक संरचना बनाउन लागिएको हो । २०७४ असोज २९ गतेको मन्त्रिपरिषदको बैठकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सदरमुकाम कावासोती राख्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु