झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन, ५ हजारलाई रोजगारी
झापा । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।
‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ,’ उनले भने, ‘यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।
अध्यक्ष ढकालले भने, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।’
झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ,’ संघका सचिव भवानीप्रसाद दंगालले भने ।
झापा जिल्ला सहकारी संघमा ४९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी १९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार/चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले बताए ।
झापाका सहकारीमा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।