करेन्ट चाउचाउको माग बढ्दो, एकै वर्षमा गर्‍यो ५ अर्बको व्यापार



काठमाडौं । बजारमा करेन्ट चाउचाउको माग बढ्दो देखिएको छ । सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रालिले नेपाली बजारमा नयाँ स्वादको चाउचाउ र स्न्याक्स उत्पादन गरी बिक्री वितरण गर्दै आएको वस्तुको माग हरेक वर्ष बढ्दै गएको पाइएको हो ।

६ वर्षअघि सुरु भएको एशोदा फुड्सले उत्पादन गर्दै आएको चाउचाउ र स्न्याक्सको माग बढ्दो क्रममा रहेको तथ्यांकले स्पष्ट पार्छ । कम्पनीको हरेक वर्ष व्यापार बढ्दै गएको कम्पनीले रेटिङमार्फत् सार्वजनिक गरेको तथ्यांकमा छ ।

सन् २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । जुन हालसम्मकै उच्च हो ।

कम्पनीको व्यापारमा सन् २०२३ मा ४५ प्रतिशतले वृद्धि आएको छ । कम्पनीले चाउचाउ सेग्मेन्टमा विभिन्न प्रकारका स्वादको चाउचाउ सार्वजनिक गरेको थियो । कम्पनीले विभिन्न ६ प्रकारका स्न्याक्स उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नयाँ–नयाँ स्वादमा विभिन्न प्रकारका स्न्याक्स उत्पादन गरी बिक्री वितरण गर्दै आएकोमा उक्त वस्तुको माग उच्च रहेको उल्लेख छ ।

कम्पनीले सन् २०२३ मा ६.४० प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीअनुसार बजारमा माग बढ्दो क्रममा रहेकाले व्यापारमा उछाल आएको जनाएको छ । वार्षिक ३० हजार ९ सय मेट्रिक टन चाउचाउ र स्न्याक्स उत्पादन गर्दै आएको कम्पनीले करेन्ट, लाली ब्रान्डमा उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीको करेन्ट ब्रान्डको चाउचाउ र स्न्याक्स पछिल्लो समयमा नेपाली बजारमा निकै रुचाइएको छ ।

कम्पनीले बजारमा माग बढ्दै गएपछि क्षमता थप गरेको छ । कम्पनीले सन् २०२३ मा २० हजार मेट्रिक टन चाउचाउ उत्पादन गरेको थियो । जसमा कम्पनीको उत्पादन क्षमताको ६२ प्रतिशत उपयभोग भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा २ अर्ब ५० करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीले सन् २०२४ मा पनि बजारमा माग बढ्ने जनाएको छ ।

कम्पनीको देशभर २५० देखि ३०० आधिकारिक वितरक छन् । कम्पनीले सिधै डिपार्टमेन्ट स्टोर र सुपरमार्केटमा बिक्री गर्दै आएको छ । कम्पनीले चाउचाउ र स्न्याक्स उत्पादनका लागि स्वदेशी तथा आयातित कच्चा पदार्थ प्रयोग गर्दै आएको जनाएको छ । कम्पनीले गहुँको पीठो, पामोलिनजस्ता कच्चा पदार्थ आयात गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ९३ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँ अर्थात् एटु रेटिङ पाएको छ ।


क्लिकमान्डु