आईपीओ ल्याउन लागेको श्रीनगर एग्रिटेकले तीन महिनामै गर्‍यो साढे २७ करोडको कारोबार



काठमाडौं । आईपीओ जारी गर्ने तयारी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पहिलो त्रैमासिकमै साढे २७ करोड रुपैयाँको कारोबार गरेको छ ।

रेटिङमार्फत् जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा २७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०१९ मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० बाट निरन्तर घटेर ८८ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ६६ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ७८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा केही मात्राले बढेर ८० करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००४ मा स्थापना भएको कम्पनी सन् २०२३ को जुनमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले पोल्ट्री, क्याटल र एक्वाकल्चर किसानहरुलाई दानाको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ । कम्पनीले सुनौलो ब्रान्डमा गाइवस्तुको दाना, हिमदाना ब्रान्डको माछाको दाना बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले वार्षिक १ लाख ३५ हजार ७८० मेट्रिक टन दाना उत्पादन गर्ने गरेको छ । कम्पनीले अन्य ग्रुपसँग एक्वाइजिसन गरी उद्योगलाई थप विस्तार गरेको छ । सतिशचन्द्र र उनका परिवारको ६६ प्रतिशत हिस्सा रहेको कम्पनीमा शिखर इन्स्योरेन्सको ११ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको ६ प्रतिशत हिस्सा छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड ८० लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई चयन गरेको छ ।

श्रीनगर एग्रिटेकले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १०० रुपैयाँको दरले १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

श्रीनगर एग्रिटेकले श्रीनगर एग्रो फार्मको स्थापनाबाट व्यवसाय सुरु गरेको थियो । फार्मले ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्ने गरेको छ । दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा बुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले प्रशोधित मासु उपभोक्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना राखेको छ ।


क्लिकमान्डु