पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढाउन नेपाल-भारत सहमतिः मन्त्री साउद
महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् ।
उनले नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको बताए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गरेको बताए ।
‘परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ’ मन्त्री साउदले भने, ‘यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सृजना हुन्छन् ।’ दश बर्षभित्र दश हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै मन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताए ।