१७६ जना सवार रुसी विमान साइबेरियाको धावनमार्गमा चिप्लियो



भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको छ ।

तर, सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संघीय हवाई यातायात एजेन्सीले जनाएअनुसार सो विमान बिहान १० बजे अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ । रासस/सिन्ह्वा


क्लिकमान्डु