बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ



काठमाडौं । बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका आधारमा संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पुस १८ गते पक्राउ गरेको हो ।

काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय स्थापना गरी जोरपाटी र भक्तपुरबाट बचतकर्ताको रकम संकलन गर्दै आएको रियल गोर्खाका अध्यक्षसहितका सञ्चालक रकम हिनामिना गरी फरार भएका थिए ।

बचतकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका रकम संकलन गरेका बचतकर्ताले अध्यक्षसहितका सञ्चालक फरार भएपछि प्रहरीमा उजुरी दिएका थिए ।

जम्मा गरेको रकमको साँवा, ब्याज पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि उनीहरु प्रहरीको शरणमा पुगेका थिए । सहकारीबाट पीडित बचतकर्ताहरुलाई यथाशीघ्र सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।


क्लिकमान्डु