म्यानपावर व्यवसायीले निर्धारण गरे वैदेशिक रोजगारीमा जाने कामदारको लागत



काठमाडौं । म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियालगायत खाडी मुलुकमा रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको हो ।

संघले सोमबार पत्रकार सम्मेलन गरी प्रतिव्यक्ति कामदार लागत १ लाख ३२ हजार ७५४ रुपैयाँ हुनुपर्ने जनाएको हो । वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गर्नुपरेको व्यवसायीको भनाइ छ ।

कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न भन्दै विभिन्न शीर्षक बनाएर व्यवसायीले सूची तय गरेको छ ।

व्यवसायीहरुका अनुसार रोजगारदाताबाट रिक्रुमेन्ट एजेन्सीलाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने तर रोजगारदाता कम्पनीले नदिएको खण्डमा उक्त शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भएमात्र लागत खर्च पारदर्शी हुने जनाएको छ ।

कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ । उक्त रकम कामदारले वैदेशिक रोजगारीमा गएर आर्जन गरेर तिर्ने व्यवस्था हुनुपर्ने व्यवसायीहरुले जनाएका छन् ।

व्यवसायीहरुले तयार गरेको वैदेशिक रोजगारीमा जाने कामदारको लागत शुल्क शीर्षकमा अभिमुखीकरण तालिममा ७ सय रुपैयाँ, राहदानी शुल्क ५ हजार, मेडिकल शुल्क ९ हजार ८९०, यातायात खर्च (आतेजाते) ९ हजार, अन्तर्वार्ता गर्न आउँदा बस्ने खर्च ७ हजार, भिसा शुल्क दूतावासमा ७ हजार ६४, सामाजिक सुरक्षा कोषमा २ हजार ३५०, कल्याणकारी कोषमा १५ सय र इन्स्योरेन्समा ४ हजार रुपैयाँ  समावेश गरेका छन् ।

त्यसैगरी, सेवा शुल्क (औसत शुल्क) न्यूनतम १ महिनाको तलब ४५ हजार (मलेसिया र खाडी मुलुक), हवाई टिकट शुल्क ४० हजार, विज्ञापन एक हजार तथा फोटो २५० रुपैयाँ गरेर १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत शूल्क निर्धारण हुनुपर्ने जनाएको छ । युरोप र अन्य मुलुकमा तलबअनुसार र हवाई टिकटबापतको खर्च सूची तल-माथि हुने व्यवसायीले जनाएका छन् ।

अहिले सरकारले शून्य लागत नीति लिएको छ ।


क्लिकमान्डु